घटस्थापनाबाट शुरु भयो दशैं

घटस्थापनाबाट शुरु भयो दशैं
  • १७ आश्विन २०८१, बिहीबार ०९:०१

काठमाडौंः हिन्दुहरुको महान पर्व बडाँदशैं शुरु भएको छ । दशैं प्रत्येक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु भई आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो।

mulpatra


आज पहिलो दिन प्रतिपदा देखि टिकाको अघिल्लो दिन अर्थात नवमीसम्म नवरात्रीका रुपमा लिइन्छ नवरात्रीभर हिन्दुहरुको शक्तिकी देवी नवदुर्गाको पुर्जा आराधना गरेर मनाउने गरिन्छ ।

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।


नवरात्रीको पहिलो दिन आज विधिपुर्वक पूजाआजा गरि जमरा राख्ने प्रचलन छ । आज राखेको जमरा टिकाको दिन देखि पुर्णीमा सम्म टिकासँग ग्रहण गर्ने प्रचलन रहेको छ ।

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ।

घटस्थापनाको साइत ९ः१६ बजे
आज घटस्थापनाको साइत बिहान ९ःः१६ बजे रहेको समितिले जनाएको छ। सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।