शुरुभयो नेपाल संवत् ११४५
काठमाडौं । आज देखि नेपाल संवत ११४५ शुरु भएको छ । नेवार समुदायको नयाँ बर्षका रुपमा मनाइने नेपाल संवत राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी सुरुआत गराएका थिए ।

यस अवसरमा काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा विशेष कार्यक्रम गरि हरेक बर्ष नयाँ बर्ष मनाउने चलन नेवार समुदायमा रहिआएको छ । काठमाडौ बाहेकका ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य भएको ठाउँमा विशेष गरि नयाँ बर्ष मनाउने चलन छ । हाल देशका विभिन्न स्थानहरुमा नेवार समुदायले समेत नयाँ बर्ष मनाउने गरेका छन ।
पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवतले राष्ट्रिय संवतको मान्यता पाएको थियो । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
