सुरु भयो हिउँदयाम, सकियो पोस्ट मनसुन
काठमाडौं– आज (डिसेम्बर १) देखि नेपालमा औपचारिक रूपमा विन्टर अर्थात् हिउँदयाम लागेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हिजो नोभेम्बर ३० सम्म नेपालको मौसममा पोस्ट–मनसुन थियो । गत अक्टोबर १२ तारिखका दिन मनसुन बाहिरिएपछि पोस्ट मनसुन सुरु भएको थियो ।
‘अब आज डिसेम्बर १ बाट विन्टर अर्थात् हिउँद सुरु भएको छ’, उनले आइतबार बिहान उनले भने, ‘आजदेखि नेपालको मौसम औपचारिक रूपमा हिउँदमा प्रवेश गरेको छ ।’
मौसमविद् अधिकारीका अनुसार यो सिजन डिसेम्बरदेखि फेब्रुअरीसम्म ३ महिना रहन्छ, त्यसपछि प्रि–मनसुन सुरु हुन्छ ।
हिउँदमा चिसो बढ्दै जाने, हिउँदे वर्षा हुने, हिमाली क्षेत्रमा हिउँ पर्ने हुन्छ। ‘हिउँदेबालीका लागि यो अनुकूल समय हो’, मौसमविद् अधिकारीले भने ।
प्रि–मनसुन सिजन अंग्रेजी महिना जुनको आधा समयसम्म रहन्छ । त्यसपछि फेरि मनसुन अर्थात् बर्खा सुरु हुन्छ। नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो । तर यसभन्दा २÷४ दिन अघिपछि हुने गरेको छ । यस वर्ष मनसुन औसत मितिभन्दा ३ दिनअघि जुन १० तारिखका दिन नेपाल भित्रिएको थियो ।
