Close

Recent Posts

युरोपले नेपाली विमान सेवालाई लागेको प्रतिबन्ध लम्बियो

युरोपले नेपाली विमान सेवालाई लागेको प्रतिबन्ध लम्बियो
  • १ पुष २०८१, सोमबार १०:४३

काठमाडौं– विगत ११ वर्षदेखि युरोपमा उडान भर्न प्रतिबन्ध खेपिरहेका नेपाली विमान सेवाहरुले अझै पनि त्यहाँको आकाशमा पखेटा फिँजाउन नपाउने भएका छन् ।

mulpatra

युरोपेली आयोगले हालैमात्र जारी गरेको नयाँ प्रतिबन्धित सूचीमा समेत नेपालका सबै विमान सेवाहरु समावेश गरिएको छ । यसले हाम्रा वायुसेवा कम्पनीलाई युरोपको आकाशमा उडान भर्ने आकांक्षा पुरा गर्न अझै लामो समय प्रतीक्षा गर्नुपर्ने बाध्यतामा धकेलेको छ ।

युरोपेली आयोगले प्रत्येक वर्ष अद्यावधिक गर्ने ‘ईयू सेफ्टी लिस्ट’ मा नेपालका हवाईजहाज र हेलिकप्टर सेवा प्रदायक सबै कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।

mulpatra mulpatra mulpatra

एयर डाइनास्टी हेलि सर्भिस, अल्टिच्युट एयर, बुद्ध एयर, फिस्टेल एयर, समिट एयर, हेलि एभरेस्ट, हिमालय एयरलाइन्स, कैलाश हेलिकप्टर सर्भिसेज, मकालु एयर, मनाङ एयर, माउण्टेन हेलिकम्पटर्स, प्रभू हेलिकप्टर्स, नेपाल वायु सेवा निगम, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सिम्रिक एयरलाइन्स, सीता एयर, तारा एयर र यति एयरलाइन्सलाई ईयुको प्रतिबन्धित सूचीमा समेटिएको छ ।

ईयुले रूसका २२ विमानसेवा सहित संसारका १२९ विमान सेवा कम्पनीहरु यस प्रतिबन्धित सूचीमा समेटिएका छन् ।

अफगानिस्तान, एङ्गोला, अर्मेनिया, कङ्गो, जिबुटी, इक्वीटेरियल गिनी, इरिट्रिया, किर्गिस्तान, लाइबेरिया, लिबिया, नेपाल, रूस, साओ तोम एण्ड प्रिन्सिप, सियरालियोन र सुडानका सबै विमान सेवालाई ईयूले प्रतिबन्धित सूचीमा राखेको छ । साथै, इरान, उत्तर कोरिया, इराक, सुरिनाम, भेनेजुयला, जिम्बाब्वे र ताञ्जानियाका निश्चित बीमा सेवा कम्पनीहरुमाथि सुरक्षा प्रत्याभूति कामजोर भएको भन्दै प्रतिबन्ध लगाइएको छ ।

Image Source: © https://mulpatra.com

ईयूले सेफ्टी लिस्टमा नेपालका सबै वायुसेवालाई राखे पनि हाल कुनै पनि वायुसेवाले त्यहाँ उडान गरेका छैनन् । यहाँ दुई अन्तर्राष्ट्रिय वायुसेवा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स पनि युरोपका कुनै गन्तव्यमा जाँदैनन् ।

यो सूचीमा परेका विमान सेवा प्रदायक वा प्रतिबन्धित मुलुकमा भविष्यमा दर्ता हुने वायु सेवा कम्पनीहरुले पनि युरोपको आकाशमा प्रवेश गर्न पाउँदैन । ईयूले पहिलो पटक सन् २०१३ मा नेपालका सबै वायुसेवालाई सेफ्टी लिस्टमा राखेको थियो । त्यसयता नेपाल यस्तो सूचीबाट बाहिरिन सकेको छैन ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि सरकारको उच्च तहबाट ईयूको सेफ्टी लिस्टबाट बाहिरिन बारम्बार प्रयास गरिएको छ । तर यसबाट हालसम्म कुनै उपलब्धी हासिल हुन सकेको छैन ।

बरु युरोपेली अधिकारीहरु नेपाली वायुसेवाको सुरक्षा प्रबन्धप्रति सकारात्मक देखिन थालेकै बेला नेपालमा विमान दुर्घटनाका घटनाहरु हुन थालेपछि पछिल्ला वर्षमा ब्यापक प्रयत्नका बावजुद प्रतिबन्ध हट्न नसकेको हो ।

ईयुले लामो समयदेखि नेपालमा नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी दुई भिन्नभिन्न निकायमा विभाजन गर्न आग्रह गर्दै आएको छ । नियामकले नै विमानस्थलहरु बनाउने र सञ्चालन गर्ने हुँदा त्यहाँ हुने ठूलो रकमको खरीद तथा विकास निर्माणमा अधिकारीहरुको ज्यादा ध्यान तानिएको देखिन्छ ।

यसले नियमन र सुरक्षा जाँचमा कयौँ ‘सम्झौता’ (कम्प्रमाइज) भएको आशंका गरिँदै आएको छ । केही जानकारहरु भने लामो समयदेखि ईयुले नेपाली कम्पनीहरुलाई आफ्नो आकाशमा उडान भर्न नदिनुका पछाडी नेपालले विगतमा खरीद गरेको चिनियाँ जहाजलाई कारण मान्छन् । नेपालले ६ वटा चिनियाँ जहाज खरीद गरेकोमा त्यो अहिले यो देशकै लागि घाँडो भएको छ ।