एनपीएलको उपाधि लियो जनकपुरले

काठमाडौं । नेपालको सुरुवाती नेपाल प्रिमियर लिग (एनपिएल) को च्याम्पियन जनकपुर बोल्ट्स बनेको छ ।
प्रतियोगिताकै सबैभन्दा बलियो मानिएको सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएल उपाधि जितेको हो।
खेलमा नायक बनेका लाहिरु मिलन्थाले ८७ रन बनाएपछि जनकपुर विजयी हुन सफल भएको थियो । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो ।
१ सय ८५ को रनको लक्ष्य पाएको जनपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा उक्त लक्ष्य पुर्याउन सफल भएको थियो ।
जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ । जनकपुरले जीत हासिल गरेपनि उपविजेता रहेको सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो ।
दोस्रो हुने सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने कर्णाली याक्सले २५ लाख रुपैयाँ तथा चौथो हुने चितवन राइनोजले १५ लाख रुपैयाँ पाउने छ ।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो ।
उक्त खेलमा फेयर प्लेको अवार्ड लुम्बिनी लायन्सले जितेको छ । फाइनल खेलपछि उक्त पुरस्कारको घोषणा गरिएको हो । खेल अवधिभर अनुशासित खेल प्रदर्शन गरेको टोलीलाई उक्त पुरस्कार दिइन्छ ।