निर्यात व्यवसायी महासंघ र भारतका लागि नेपाली राजदुत बीच छलफल
काठमाडौं । निर्यात व्यवसायि महासंघ नेपाल (फिन) ले भारतमा निर्यात प्रवर्धन तथा निर्यातमा देखिएको समस्याहरुका विषयमा नवनियुक्त नेपाली राजदूत डा. शंकरप्रसाद शर्मासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आज महासंघको कार्यलयमा सम्पन्न अन्तक्रिया कार्यक्रममा नेपालबाट भारत निकासी गर्ने वस्तुगत संघका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा भारतमा व्यापार प्रवद्र्धन गर्ने र खासगरि भारत निकासी गर्दा नेपाली व्यवसायीले भोग्नु पर्ने समस्याहरुमा केन्द्रित रहेर छलफल भएको थियो ।
छलफलका क्रममा महासंघका अध्यक्ष शंकर पाण्डेले नेपालमा उत्पादित वस्तु भारत निकासी गर्दा व्यवसायीले भोग्नुपर्ने समस्याहरुका विषयमा कुरा राख्दै भारतसँगको व्यापारमा विभिन्न ट्यारिफ वेरियर लगाउने कारण समस्याहरु आइरहेकाले राजदूतले समग्र देशका प्रतिनिधित्व गर्ने हुनाले व्यवसाय प्रवद्र्धनका लागि र समस्याका समाधानहरुका लागि सहजीकरण गर्न अनुरोध समेत गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
पछिल्लो समय भारतले नेपाली वस्तु निर्यातमा ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड बीआईएस को प्रमाण पत्र अनिवार्य गरेपछि नेपालमा उत्पादित वस्तु प्लाइउड, जुत्ता, सिमेन्ट, पेन्ट्स, स्यानिटरी प्याड लगायतका निर्यातकर्तालाई समस्या परेको छ ।
बीआईएस भनेको भारत सरकारबाट मान्यताप्राप्त भएको मापदण्डको प्रमाण पत्र हो । भारतमा कुनै पनि वस्तु बिक्री वितरणका लागि बीआईएस अनिवार्य रूपमा लागू गरिएको छ । तर बीआईएस लिनका लागि तत्काल सहज नभएकोले नेपालबाट भारत निर्यात हुने व्यवसाय सहजीकरणका लागि समेत अनुरोध गरिएको थियो ।
अहिले नेपालबाट भारत निकासी हुने प्रमुख वस्तुहरु मध्ये प्लाइउड पनि एक हो । प्लाइउडमा पनि विआइएस अनिवार्य गरेपछि केही समय निर्यात रोकिएको र २८ फर्भवरी सम्म म्याद थप गरेकाले २८ फेव्रेवरी पछि फेरी निकासी रोकिन सक्ने महासंघका महासचिव देवानन्द सरावगीले जनाएका छन् ।
Image Source: © https://mulpatra.com
यस वर्ष ८ अरबको कारोबार भएको प्लाइउडको सर्टिफिकेटको लागि व्यवसायी तयारी भएपनि भारतीय पक्षले भ्रमण नगरेकाले निर्यातमा समस्या हुनसक्ने कुरालाई समेत राजदुत समक्ष राखिएको छ । महासचिव सरावगीका अनुसार बीआईएस लिनका लागि भारत सरकारले फ्याक्ट्रीदेखि वस्तुको गुणस्तरसम्म अवलोकन गरेर त्यहाँको मापदण्ड अनुसार हुनुपर्ने व्यवस्था गरेको छ । तर समय कम रहेकाले तत्काल भारतसँग बीआईएसका लागि समय थप गर्न पहल गरेर तत्कालको समस्या समाधान गर्न समेत आग्रह गरिएको थियो ।
त्यसैगरि नेपालमा उत्पादित अदुवा, चिया, जडिबुटि, कुचो, कत्था, सुपारी, रुद्राक्ष, तयारी पोशाक, जुस्ता जस्ता वस्तुहरु निर्यात गर्दा देखिएका समस्या र समाधानका विषयमा समेत राजदूतलाई ध्यानाकर्षण गरिएको थियो ।
व्यवसायीहरुले भारतसँगको व्यापार समस्या र व्यापार प्रवद्र्धनका कुरा राखेपछि कार्यक्रमको अन्त्यमा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले कुरा राख्दै व्यवसायीहरुको हितमा हुनेगरि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।



