१ लाख बढी ‘नक्कली’ लाइसेन्सको रेकर्डबाट खारेज गरिदैँ

१ लाख बढी ‘नक्कली’ लाइसेन्सको रेकर्डबाट खारेज गरिदैँ
  • १८ पुष २०८१, बिहीबार १६:४२

काठमाडौं– नक्कली भनेर रोक्का गरिएका १ लाख २ हजार सवारी चालक अनुमति पत्र लाइसेन्सको रेकर्ड भिडाउने प्रक्रिया सुरू भएको छ । यातायात कार्यालयमार्फत ती लाइसेन्स ढड्डाको रेकर्डसँग भिडाउन लागिएको हो । प्रदेशमा भएका यातायात कार्यालयहरूलाई नयाँ लाइसेन्स जारी गर्ने र खारेज गर्ने अधिकार हुन्छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले भने, ‘नयाँ लाइसेन्स जारी गर्ने र रद्ध गर्ने अधिकार प्रदेशका यातायात कार्यालयलाई नै छ । १ लाख २ हजार नयाँ लाइसेन्स नक्कली भनेर रोक्का गरिएको थियो । रोक्का भएका लाइसेन्सहरूको ढड्डासँग दाँजेर विवरण ठिक भए खुला गर्ने प्रक्रिया सुरू भएको छ । ढड्डा अनुसार ठिक भएका लाइसेन्स खुल्ला गर्न निर्देशन दिइसकेका छौं ।’

ढड्डामा नभएका लाइसेन्स भने लाइसेन्स जारी गर्ने यातायात कार्यालयले नै रद्ध गर्ने छ । यातायात व्यवस्था कार्यालयमा नै आफ्नो लाइसेन्स नक्कली भएको भन्दै केही सेवाग्राही रद्ध गर्न आएका थिए ।

कस्ता लाइसेन्स हुन्छ खारेज ?

नक्कली भनेर रोक्का गरिएको १ लाख २ हजार लाइसेन्स सम्बन्धित यातायात कार्यालयले ढड्डासँग दाँजेर हेर्दा विवरण नभेटिएका लाइसेन्स रद्ध हुनेछ । भने, लाइसेन्समा लाइट, मिनी र हेभी छ, तर ढड्डामा लाइट र मिनीको मात्रै भएको चालकले लाइट मिनीको मात्रै लाइसेन्स पाउने छन् ।

यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स नै नक्कलीभन्दा पनि थप गरेको क्याटोगोरी ढड्डामा नभेटिए त्योमात्रै रद्ध हुन्छ ।

विभागले नक्कली लाइसेन्स प्रकरणमा आन्तरिक अध्ययन पनि गरेको थियो । यस विषयमा अख्तियार र सीआईबीको अनुसन्धानपश्चात केही व्यक्ति पक्राउ परेका थिए । लिखित र ट्रायल नै नदिई लाइसेन्स बनाएका तथा अरुको नाममा लाइसेन्स लिएकाहरू धेरै भेटिएको बताइएको छ ।