ओलीबाट उकुसमुस एमाले पूर्वराष्ट्रपति विद्यादेवीतिर

ओलीबाट उकुसमुस एमाले पूर्वराष्ट्रपति विद्यादेवीतिर
  • २१ पुष २०८१, आईतवार १४:०१

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले पुस १० को बैठकमा भीम रावललाई संगठित सदस्यताबाटै हटाए। त्यस्तै, व्यवसायी मीनबहादुर गुरूङसँग दान लिएर पार्टी कार्यालय बनाउने सचिवालय निर्णयविरूद्ध हाँक दिने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना जिम्मेवारीबाट मुक्त राखे।

mulpatra

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। एमाले अध्यक्षसमेत रहेका ओलीले पार्टी राजनीतिमा सक्रियता बढाउँदै गएकी पूर्वउपाध्यक्ष भण्डारीलाई उनको बुढानीलकण्ठस्थित निवासमै गएर भेटेका हुन्।

उनीहरूबीच करिब दुई घण्टा भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल गरेका थिए।
अहिले पुराना पार्टी र राजकीय सत्ताविरूद्ध मात्र होइन, राज्यका संस्थाहरूविरूद्ध पनि घृणा र विद्वेष बढिरहेको छ। नागरिकका आशा सम्बोधन गरेर निराशा चिर्नुपर्ने बेला नै एमाले कमजोर बनेको छ। र, यसको सीधा प्रभाव राज्य सञ्चालनमा परेको छ।

mulpatra mulpatra mulpatra

यस्तो बेला पार्टीलाई देशभित्रै र बाह्य रूपबाट थप कमजोर बनाउने खेल हुनसक्ने अनुमान नेताहरूले गर्न थालेका छन्।

यसरी एकातिर एमालेभित्र बढ्दो उकुसमुकस र अर्कातिर नेतृत्व कमजोर बनेपछि पार्टीभित्रैबाट विद्या भण्डारी नेतृत्वमा आउनुपर्ने बहस उठ्न थालेको छ।

दुई–दुई कार्यकाल राष्ट्रपति बनिसकेकी विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने सम्भावनाबारे बहस पार्टीभित्र मात्र सीमित छैन, पार्टी बाहिर पनि उत्तिकै घनिभूत बनिरहेको छ।

Image Source: © https://mulpatra.com

यो सम्भावना पुष्टि हुने गरी अध्यक्ष ओलीले गत साउनमै अभिव्यक्ति दिएका थिए। साउन २९ गते बसेको सचिवालय बैठकमा बिनाप्रसंग अध्यक्ष ओलीले विद्याको सम्भावित राजनीतिक सक्रियताबारे टिप्पणी गरेका थिए। राष्ट्रपति भइसकेको व्यक्ति राष्ट्रिय सम्मानमा बस्नुपर्ने ओलीको अभिप्राय थियो।

’राष्ट्रपति भइसकेका व्यक्ति राष्ट्रिय सम्मानमा बस्नुपर्छ। राजनीतिमा फर्कने कुरा सुहाउँदो होइन,’ ओलीको आसय थियो, ’त्यस्तो चाहना राख्नु हुँदैन।’ ओलीले त्यही बैठकबाट अरू नेताहरूलाई विद्या भण्डारीलाई राजनीतिमा फर्कनुपर्छ भनेर उकास्न उनको निवासतिर नपुग्नसमेत भनेका थिए।

मंसिर ३० गते पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय कार्यशालामा पनि ओलीको त्यही सन्देश थियो। उनले भण्डारीलाई पार्टी राजनीतिमा फर्कन एमालेकै नेताहरू दौडधुप गरिरहेको बताउँदै त्यसो नगर्न भनेका थिए। भण्डारीलाई राजनीतिमा आउन मन भए पार्टी नेतृत्वसँग कुरा गर्ने तर नेताहरूले गएर गल लगाउन नपर्ने ओलीको सन्देश थियो।

’पूर्वराष्ट्रपति भण्डारी के गर्ने, के नगर्ने भनेर आफै निर्णय लिन सक्ने नेता हो। कसैले गएर गल लगाउनु पर्दैन। उहाँलाई राजनीतिमा आउन मन भए हामीसँग कुरा गर्नुहोला। कसैले गएर भनिरहनु पर्दैन,’ उनले भनेका थिए।

पछिल्लो समय पार्टी अध्यक्ष र भण्डारीबीच तिक्तता बढेको संकेत ओलीका अभिव्यक्तिले नै दिएका छन्। त्यसमाथि ओलीको कार्यशैलीबाट क्षुब्ध नेता–कार्यकर्ता भण्डारीकहाँ गुनासो सुनाउन पुग्ने र उनले धैर्यपूर्वक सुन्ने भएपछि दुरी बढ्ने नै भयो।

यसैबीच बिहीबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र भण्डारीको अढाई घन्टा लामो वार्ता भयो। वार्तामा पछिल्लो राजनीतिक अवस्था, सरकारको कामबारे मिहिन छलफल भएको एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले जानकारी दिए।

’उहाँहरूबीच सौहार्द कुराकानी भयो। सरकारको काम–कारबाहीबारे नै कुराकानी केन्द्रित थियो। समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल हुने नै भयो। खासगरी उहाँहरूबीच नेपालको अर्थतन्त्र, रोजगारी वृद्धि, शैक्षिक समस्या, सत्तामा सहकार्य गरिरहेकाहरूबीचको सम्बन्ध कसरी अघि बढाउने भन्ने विषयमा कुराकानी भयो,’ उनले भने।

थापाले भनेका कुरा सतही सुनिए पनि ओली र भण्डारीको भेट उनीहरूबीच असमझदारी छैन भन्ने देखाउन नै भएको बुझ्न कठिन छैन। बिहीबारको सचिवालय बैठकपछि ओली सिधै चपली पुगेर भेटको फोटो सार्वजनिक गर्दै सौहार्दपूर्ण सम्बन्ध रहेको सन्देश दिए पनि एमालेभित्र पार्टी नेतृत्वमा विद्या भण्डारी आउनुपर्छ भन्ने मत बाक्लिन थालिसकेको छ।

हामीले पदाधिकारीदेखि आधारभूत कमिटीसम्मका गरी २० जनाभन्दा बढी एमालेका नेता–कार्यकर्तासँग कुराकानी गरेका छौं। तीमध्ये अधिकांशले ओलीलाई नेतृत्वबाट विस्थापन गर्न सक्ने नेताका रूपमा भण्डारीलाई बुझेका छन्।

बागमती प्रदेश कमिटीको अध्यक्षमा पराजित कृष्ण दाहालले पार्टी नेतृत्वमा भण्डारी आउन सक्ने सम्भावना औंल्याए।

’अहिले महाधिवेशन आइसकेको छैन। महाधिवेशन लागिसकेपछि नेतृत्वबारे छलफल होला। एमालेमा सम्भावना भएका नेता छन्। सामूहिकतामा चल्न नेतृत्वलाई दबाबको जरूरत पर्छ। अहिले जे कार्यशैली देखिएको छ, त्यसबाट असन्तुष्टि पैदा हुनु स्वाभाविकै हो। यसलाई नेतृत्वले पुनर्विचार गर्नुपर्छ,’ उनले भने, ’आन्दोलनको रक्षा र विकास निम्ति विद्या भण्डारी आउनुपर्छ। उहाँ आउन कार्यकर्ताले माग गर्छन्।’

पोलिटब्युरो सदस्य कृष्ण राईले भण्डारी एमालेको अध्यक्ष बन्न सक्ने बताए। ’विद्या भण्डारी एमालेको अध्यक्ष हुन सक्नुहुन्छ। उहाँ एमालेको निर्वाचित उपाध्यक्ष भइसकेको मानिस हो। पार्टीका सबै खुट्किला पार गरिसक्नुभएको छ। कुनै परिवेश मिलेको खण्डमा उहाँ अध्यक्ष नहुनुहोला भन्न सकिन्न,’ उनले भने।

भण्डारी एमालेमा फर्कनु हुँदैन भन्ने तर्क–वितर्क गरिराख्ने हो भने उनलाई पार्टीमा जान पाउने कुराबाट वञ्चित गर्नुपर्ने उनको तर्क छ। ’न त्यो संविधान, न पार्टीको विधानले रोक्न सक्छ,’ उनले भने।

उनले अर्को सम्भावना पनि देखाएका छन्। कम्युनिस्ट पार्टीबीच बढ्दो ध्रुवीकरण र खण्डीकरण मात्र होइन, राजनीति अस्थिरता बढिरहँदा नेतृत्वमा उनको नाम पास गर्ने अवस्था बन्ने उनको आकलन छ।

यद्यपि भण्डारीले समूह नै बनाएर अध्यक्षका लागि बहस र छलफल भने नचलाएको राईले बताए। स्थायी कमिटी सदस्य किरण गुरूङले राष्ट्रपति भइसकेको भण्डारी पार्टी राजनीतिमा फर्किने कुरा एमालेको मात्रै विषय नभएको बताउँछन्।

’विद्या भण्डारी दुई–दुई कार्यकाल राष्ट्रपति भइसक्नुभयो। संघीय लोकतान्त्रिक गणतन्त्रको सर्वोच्च पदमा पुग्नुभयो। उहाँ फेरि फर्किएर राजनीतिमा आउने एमालेको मात्रै आन्तरिक विषय होइन, संघीय लोकतान्त्रिक गणतन्त्रकै विषय हो। हाम्रो व्यवस्थाको सर्वोच्च पद नै राष्ट्रपति हो। यस्तो सर्वोच्च पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन हुन्छ कि हुँदैन? बहस यसमा हो। चाहना हुँदैमा सर्वोच्च पदमा पुगेको व्यक्ति राजनीतिमा फर्कने भन्ने हुँदैन। अरू देशको अभ्यास के छ? स्थापित परम्परा के छ? मूल्य–मान्यता के हो? यसबारे छलफल हुनुपर्छ,’ उनले भने।

नेताको अनुहार देखाएर पद–प्रतिष्ठा आर्जन गर्नेहरूको उक्साहटमा लाग्नु जोखिमपूर्ण हुने पनि उनले बताए।

’त्यस्ता व्यक्तिहरू विद्या भण्डारीकहाँ पनि पुगेका होलान्। तपाईंको उमेर छ, सक्रिय हुनुप¥यो, प्रधानमन्त्री बन्नुप¥यो भनेर उकासेका होलान्। उहाँको नाम भजाएर राजनीतिमा पद–प्रतिष्ठा आर्जन गर्न खोज्नेहरूले यसो गरेका हुन सक्छन्। म त भन्छु, एमालेका जो जो नेता गएर विद्या भण्डारीलाई उचालेका छन्, उहाँ फर्कनुभयो भने विरोध गर्ने तिनै हुन्छन्,’ उनले भने।

भण्डारीले आफै राजनीतिमा फर्कनेबारे मुख खोलिनसकेको बताउँदै गुरूङले पार्टीभित्र र बाहिरबाट भने दबाब दिन थालिएको बताए।

’एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका मानिसहरू पुगेर पुनः नेकपा बनाउनुप¥यो, एकीकृत कम्युनिस्ट पार्टी बनाउनुप¥यो भनेका होलान्। माओवादी केन्द्रका नेताहरू पनि पुगेर तपाईंको नेतृत्वमा एकीकृत पार्टी बनाउनुप¥यो भनेका होलान्। यस्तो सम्भावनाबारे उल्लेख गर्दै समाचार आइरहेका छन्। विद्या भण्डारीले पनि यो पढिराख्नुभएको छ। सुनिराख्नुभएको छ। उहाँलाई पनि हो कि क्या हो भन्ने लागेको होला,’ गुरूङले भने।

एमालेमा अहिले चार–पाँच कोणबाट भण्डारी एमाले फर्किएर पार्टी अध्यक्ष बन्ने सम्भावनाबारे बहस भइरहेको छ।

पहिलो, एमालेभित्र उकुसमुकस बढ्दो छ। नेतृत्वले सुनिदिए मात्र पनि कतिपय गुनासो व्यवस्थापन हुन्छन्। तर ओली सीमित नेताबाहेकको पहुँचमा छैनन्। पहुँच पु¥याए पनि ओली गुनासो सुन्दैनन्। त्यसको ठिक विपरीत छिन् भण्डारी। उनी धैर्यपूर्वक नेता–कार्यकर्ताको गुनासो सुन्छिन्। मन नपर्नेबित्तिकै मुखै नहेर्ने प्रवृत्ति भण्डारीको छैन भन्नेमा उनीहरू विश्वस्त देखिन्छन्।

दोस्रो, २०८० जेठ १९ गते बसेको सचिवालय बैठकले विधानमा रहेको कार्यकारी कमिटीको नेतृत्व वा सदस्यको ७० वर्षे उमेर हद निलम्बन ग¥यो। धेरैले यसलाई ओली तेस्रोपटक अध्यक्ष चुनिन विधान सम्मेलनबाट पारित विधानको व्यवस्था निलम्बन गरिएको रूपमा बुझेका छन्। उनीहरूले ओली पदलोलुप रहेको सन्देश गएकोसमेत अथ्र्याएका छन्।

यसलाई चिर्न मात्र होइन, आफ्नो विश्वासपात्रलाई नेतृत्व हस्तान्तरण गर्ने ओलीको चाहनाको रक्षाका लागि पनि भण्डारी उपयुक्त पात्र हुने उनीहरूको ठम्याइ छ।

तेस्रो, देशका प्रमुख पार्टीमा तत्काल महिला कार्यकारी भूमिकामा पुग्ने अवस्था छैन। भण्डारी सक्रिय राजनीतिमा फर्किए एमालेमा त्यो सम्भावना छ। त्यसैको आडमा पार्टीमा आकर्षण बढाउन सकिने तर्क गर्नेहरू पनि एमालेमा बढेका छन्।

त्यस अतिरिक्त भण्डारीसँग जनताको बहुदलीय जनवाद (जबज) को भावनात्मक साइनो छ। उनकै पति मदन भण्डारीले २०४९ सालको पाँचौं महाधिवेशनमा जनताको बहुदलीय जनवादको राजनीतिक कार्यदिशा अघि सारेका थिए। अहिले एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त बनाएको छ।

परिवर्तित राजनीतिक परिदृश्यअनुरूप जबजको व्याख्या, विश्लेषण हुन नसकेको महसुस एमालेका केही नेताले गर्दै आएका छन्। अहिलेको राजनीतिक परिस्थिति सुहाउँदो जबजको विकासका लागि पनि भण्डारी उपयुक्त पात्र हुने उनीहरूको बुझाइ देखिन्छ।

’भण्डारी नै जबजको असली उत्तराधिकारी बन्न सक्नुहुन्छ। उहाँकै नेतृत्वमा जबजलाई समाजवाद उन्मुख व्यवस्थाको आधारशीला बनाउने काम हुनसक्छ,’ एमालेका एक स्थायी कमिटी सदस्यले भने।

चौथो, अध्यक्ष ओलीले सरकारको नेतृत्व गरेकोमा भारत खुसी छैन। भारत रिझाउन ओलीले भरमग्दुर प्रयत्न गरेका हुन्। उनी आफ्नो पहिलो भ्रमण भारतमा नै होस् भन्ने चाहन्थे पनि। तर भारत त्यसका निम्ति तयार देखिएन।

ओलीको भारतसँगको सम्बन्धमा चिसोपना कायमै रहेका बेला एमालेभित्र नयाँ खालको अन्तरविरोध देखिएको छ। भण्डारीको राजनीतिमा फर्कने सुषुप्त चाहना विभिन्न ढंगबाट मुखर हुन थालेपछि कतिपयले यसलाई भूराजनीतिक प्रभाव पनि भन्न थालेका छन्। एमाले पंक्तिलाई पनि यो लागेकै छ।

पाँचौं, एमालेमा विद्या र ओलीलाई एकै सिक्काका दुई पाटा भन्नेहरूको पनि कमी छैन।

उनीहरू ओलीसँग संघर्ष गरेर उनको इच्छाविपरीत विद्या राजनीतिमा फर्कने र पार्टी अध्यक्ष बन्ने सम्भावना नकार्छन्। बरू उनीहरूले अर्को सम्भावना देखेका छन्। सरकारको नेतृत्व गरिरहेका ओलीको बाह्य रूपमा जति आलोचना भइरहेको छ, पार्टीभित्र पनि उत्तिकै कमजोर बनिरहेका छन्। निरंकुश कार्यशैलीका कारण हिजो ज्यान दिएर नेतृत्वमा ल्याउन लागिपर्नेहरू आज उनका विरूद्ध मुखर हुन थालेका छन्।

आफ्ना भनिएकाहरू क्रमशः टाढिँदै जाँदा र पार्टीभित्र थप अलोकप्रिय बनिरहँदा उनैले विद्या भण्डारीको नाम प्रस्ताव गर्न सक्छन्। अहिले उनैले त्यसको पृष्ठभूमि तयार पारिरहेको बुझ्नेहरू पनि एमालेमा बढेका छन्।