तीन लाख धरौटी छुटे प्रसाई, तस्करविरुद्ध लड्ने उदघोष

तीन लाख धरौटी छुटे प्रसाई, तस्करविरुद्ध लड्ने उदघोष
  • २५ पुष २०८१, बिहीबार २०:२६

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई जिल्ला अदालत काठमाडौंले तीन लाख धरौटीमा रिहा गरेको छ । उनी धरौटी रकम बुझाएर बिहीबार नै रिहा भएको श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

प्रसाईले छुटेपछि आफनो तस्करविरुद्धको आन्दोलन जारी रहेको र आगामी दिनमा नयाँ योजना बोकेर जनताको घर दैलोमा जाने पनि उदघोष गरेका छन् । जनताका लागि लडेको मान्छे छु । अहिलेको सरकारले नचाहिँदो मुद्दामा दुख दिएको उनको आरोप छ ।

उनको थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलले धरौटी माग गर्ने आदेश गरेका हुन् । प्रसाईका साथै नवीन प्रधान भन्ने हरिचन्द्र फुयाँल र रामचन्द्र मैनालीलाई पनि प्रतिवादी कायम गरिएको थियो । उनीहरु भने धरौटी बुझाउन नआएको जिल्ला अदालतले जनाएको छ ।

प्रसाईसमेत तीनै जनाविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको कसूरमा मुद्दा चलाइएको हो । २४ पुसमा केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनअनुसार जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीलाई उनले धम्क्याएकोसमेत भेटिएपछि उनीविरुद्ध यो कसूरमा पनि मुद्दा चलेको हो । यसअघि व्यवसायीहरु पवन गोल्यान र दीपेन्द्र अग्रवालले समेत प्रसाईविरुद्ध उजुरी दिएका थिए ।