यति, ओम्नी र गिरिबन्धु प्रकरणः संसदीय समिति गठन गर्न पुनको माग

यति, ओम्नी र गिरिबन्धु प्रकरणः संसदीय समिति गठन गर्न पुनको माग
  • २८ पुष २०८१, आईतवार ०८:४९

काठमाडौंः नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यति, ओम्नी र गिरिबन्धु प्रकरण बारे संसदीय समिति गठन हुनुपर्ने बताएका छन् । 

mulpatra

माओवादी केन्द्र महाभारत गाउँपालिका, काभ्रेको दोस्रो अधिवेशनको शनिबार देबीटारमा उदघाटन गर्दै पुनले भुटानी शरणार्थी प्रकरण, यति, ओम्नी, गिरिबन्धु टी स्टेटजस्ता अनियमितता र राज्य दोहनका घटना छानबिन गर्न संसदीय विशेष समिति गठन हुनुपर्ने बताएका हुन् ।

लोकतन्त्रमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र कोही पनि प्रश्नभन्दा माथि हुन नसक्ने भन्दै उनले प्रधानमन्त्री केपी ओली आफूमाथि सार्वजनिक रुपमा उठेका प्रश्नबारे छानबिनका लागि तयार हुनुपर्ने बताए ।  

mulpatra mulpatra mulpatra

‘हाम्रो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको भुटानी शरणार्थी प्रकरणबारे के हुन्छ ? यति र ओम्नी प्रकरणको छानबिन हुन्छ कि हुँदैन ?’, पुनले भने,  ‘राजतन्त्रमा जस्तो लोकतन्त्रमा कोही पनि विधि र प्रश्नभन्दा माथि हुँदैन । यी सबै प्रकरणहरुको संसदले छानबिन गर्नुपर्छ  ।’ 
 
विवादास्पद व्यवसायीसँग पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा प्रश्न उठाउने भीम रावल लगायत नेतामाथि कारबाही गरेको र आफूबारे प्रश्न उठाउने सर्वसाधारणमाथि समेत जाइलाग्न अरिंगाल सेनालाई अपिल गर्नुले प्रश्न मन नपर्ने ओलीको चरित्र उदांगो भएको टिप्पणी पुनले गरे ।