परराष्ट्रमन्त्रीले कतारका विदेश मन्त्रीसँग जोशीलाई रिहाइका लागि फोनमार्फत आग्रह गरिन

काठमाडौं– परराष्ट्रमन्त्री आरजु राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका विषयमा कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोन वार्ता गरेकी छन् ।
मन्त्री डा.खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै राणाले हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन अपिल गर्ने काम गरिरहेको बताएकी छन् ।
यसै अन्तर्गत आज कतारका मन्त्री डा खुलाइफीसँगको फोनवार्तामा पनि विपिनको रिहाइका लागि विशेष पहल गरिदिन थप आग्रह गरेको उनको भनाइ छ । ‘उहाँले हमास समूहलाई युद्धविराममा ल्याई बन्दीहरुलाई मुक्त गराउन कतार सरकारले पहल गरिरहेको जानकारी गराउँदै यस विषयमा छिट्टै नै सकारात्मक खबर आउने बताउनुभयो । यसबाट थप आशावादी भएका छौँ ।’ राणाले भनेकी छन् ।