पवित्र धार्मिकस्थल पाथीभरालाई युद्धमैदान बनाउन सरकारकै हात छ:प्रसाई

पवित्र धार्मिकस्थल पाथीभरालाई युद्धमैदान बनाउन सरकारकै हात छ:प्रसाई
  • १४ माघ २०८१, सोमबार १४:०३

काठमाडौं– पूर्वी नेपालको पहाडी जिल्ला ताप्लेजुङको शीरमा रहेको पाथीभरा मन्दिरक्षेत्र यतिबेला युद्धमैदान भइरहेको छ । यसको मुख्य कारण भनेको पाथीभरा मन्दिरसम्म जानका लागि केवलकार बनाउने योजना चन्द्र ढकालको पाथीभरा–मुक्कुम्लुङ केवलकार प्रालिले अगाडि बढाएको छ ।

एकातिर स्थानीयको निरन्तरको विरोध र अर्कोतिर राज्यको बलमिच्याइँका कारण पाथिभराजस्तो शान्तिक्षेत्र एकाएक युद्धमैदानमा परिणत भएको नागरिक बचाउ महाअभियान तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले बताएका छन् ।

उनका अनुसार पवित्र धार्मिकस्थल पाथीभरालाई युद्धमैदान बनाउन सरकारको नेतृत्व गरिरहेकै पार्टीको हात छ । जनताले विरोध गर्दैमा गोली हान्नुपर्छ भन्ने हुँदैन् । यस्तो कार्य जनताले राम्ररी हेरिरहेका छन् । आन्दोलनकारी यसबहादुर लिम्बु र सगुन लिम्बुलाई गोली लागेको थियो । यसमा सरकारले समन्यकारी भुमिका खेल्न नसकेको प्रसाईको भनाइ छ ।

‘तत्काल केवलकार निर्माणकार्य रोकेर भए पनि सरकारले वार्ता र सम्वाद अगाडि बढाउनुपर्छ । पवित्र धार्मिकस्थल पाथीभरालाई युद्धमैदान बनाउनबाट बचाउनुपर्छ । यो अहिलेको अवस्था हो ।’ उनले भने ।

शनिबार साँझ पाथीभराको फेदीस्थित केबलकार निर्माणस्थलमा भएको झडपमा प्रहरीले अश्रुग्यास र गोली प्रहार गरेको थियो । शनिबार भएको गोली प्रहारको घटनाको निष्पक्ष छानविन गर्ने र आन्दोलनकारीको मागको विषयमा वार्ताको माध्यमबाट सुनुवाई गर्नुपर्ने त्यहाँका स्थानियवासीको माग छ ।

स्थानीय पहिचानवादी समुदायले लिम्बुजातिको ऐतिहासिक मुक्कुम्लुङ क्षेत्रमा केबलकार बनाउन नपाइने भन्दै आन्दोलन गर्दै आएका छन् । यो समस्या समाधान नगरी जनतामाथि तीनै समुदायमाथि गोली हान्नु लगत भएको भन्दै सरकार विरोध भइरहेको छ ।

ढकालको यो परियोजनालाई साथ दिन सकारले त्यहाँ ठूलो संख्यामा सशस्त्र प्रहरी खटाएको आरोप स्थानियको छ । प्रहरीको सहयोगमा सरकारले बल प्रयोग गरेर ढकालले केवलकार निर्माणका लागि जंगल फाँडिसकेर तल्लो फेदीमा डोजरले खन्न सुरु गरेका छन् ।

विकासका नाममा राज्यले निम्त्याएको युद्धले गर्दा तीर्थयात्रीमा त्रास उत्पन्न भएको छ र पूर्वीनेपालको पहाडी जिल्ला ताप्लेजुङको शीरमा रहेको पाथीभरा मन्दिरक्षेत्र यतिबेला युद्धमैदानमा परिणत भएको छ ।

सरकारले बलजफ्ती गर्न खोजियो भने यसले पूर्वी नेपालमा लामो समयसम्म द्वन्द्व निम्त्याउने सक्छ । अहिलेको आधुनिक राज्यले त झनै स्थानीय आदिवासी समुदायमाथि बलजफ्ती गर्नै मिल्दैन ।

पृथ्वीनारायण शाहले पनि लिम्बुजातिसँग युद्ध नगरेर १८३१ मा किन सम्झौता गरे ? त्यसको विशेष अर्थ छ । त्यसैले, सरकारले पूर्वी नेपालको राजनीतिक सम्वेदनशीलता बुझ्न आवश्यक छ ।