Close

Recent Posts

यूएस–एडको मुख्यालय बन्द, प्रभाव विश्वमा

यूएस–एडको मुख्यालय बन्द, प्रभाव विश्वमा
  • २२ माघ २०८१, मंगलवार १३:२३

काठमाडौं – यूएस एजेन्सी फर इन्टरनेशनल डेभेलपमेन्ट (यूएस–एड)को भविष्य अब ‘अन्धकारमय’ भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त एजेन्सी बन्द गर्ने निर्णयमा हस्ताक्षर गरेको भनेर सांसारका सबैभन्दा धनी व्यक्ति इलोन मस्कले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

mulpatra

वासिङ्गटन स्थित यूएस–एडको मुख्यालय सोमबार दिनभर बन्द गरिएको थियो । कर्मचारीहरुलाई ‘घरमै बस्न’ इमेलमार्फत् भनिएको थियो । भवनको भित्तामा टाँसिएका लोगो र तस्वीरहरुलाई हटाइएको थियो ।

यसको वेवसाइट र सामाजिल सञ्जालका खाताहरु बन्द गरिएको छ र यूएस–एडको वेवपेजको संक्षिप्त संस्करणलाई अमेरिकी स्टेट डिपार्टमेन्टको वेवसाइटमा राखिएको छ ।

अमेरिकी संसद (कांग्रेस)ले एक स्वतन्त्र निकायको रुपमा स्थापित गरेको यस एजेन्सीलाई राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुले ‘पक्षपाती’ भनेका छन् । विपक्षी दल डेमेक्र्याटले उक्त भनाइको खण्डन गर्दै यस एजेन्सीको अन्त्य गर्ने अधिकार ट्रम्पलाई नभएको भनेको छ ।

तर विधायक र कर्मचारीहरु पनि यूएस–एडलाई पूर्ण रुपमा बन्द गर्न तथा यसलाई विदेश मन्त्रालयको मातहत ल्याउने कुरामा सहमत देखिन्छन् । यो घटनाक्रम इलोन मस्कले आफ्नै सामाजिक सञ्जालमा दिएको एक वक्तव्यपश्चात् विकास भएजस्तो देखिने भनेर सीएनएनले लेखेको छ ।

मस्कले सोमबार विहान ‘एक्स स्पेसेस’सँगको वार्तामा भनेका थिए, ‘यूएस–एडको मामिलामा मैले (राष्ट्रपतिसँग) विस्तृतमा छलफल गरेको छु र उहाँ यस कुरामा सहमत हुनु भयो की, हामीले यस (यूएस–एड)लाई बन्द गरिदिनु पर्छ ।’

राष्ट्रपति ट्रम्पले पनि पत्रकारहरुसँगको प्रश्नोत्तरमा उक्त एजेन्सी र विदेशी सहायता प्रदान गर्ने उसको ‘मिसन’ आफूलाई चित्त नबुझेको बताएका छन् । सीएनएनका अनुसार ट्रम्पले पत्रकारहरुसामु भनेका थिए– ‘यो एजेन्सी केही कट्टरपन्थी पागलहरुले चलाइरहेका छन् । हामी उनीहरुलाई बाहिर निकाल्छौँ । त्यसपछि बल्ल यसको भविष्यको बारेमा निर्णय गरौँला ।’

राती अबेर राष्ट्रपतिले यस्तो भनेपछि मध्येरात कट्नासाथै कर्मचारीहरुलाई इमेल पुग्यो, त्यसमा ‘वासिङ्गटन कार्यालयमा हाजिर नहुन’ भनिएको थियो ।

यसअघि ९० दिनका लागि विदेशी सहायता रोक्ने राष्ट्रपतिको आदेश पालना गर्न अस्वीकार गरेको भनेर यूएस–एडका करीब ६० जना बरिष्ठ अधिकारीलाई बिदामा राखिएको थियो । त्यसबाहेक कनिष्ठ कर्मचारीहरुलाई पनि बिदामा राखिएको र छोडेर जान चाहनेलाई बिदाइ गरिरहेको थियो ।

गत शनिबार नै यूएस–एडको वेवसाइट बन्द गरिएको थियो भने विदेश मन्त्रालयको वेवसाइटमा उक्त एजेन्सीको एक पेज देखिएको थियो । सामाजिक सञ्जाल एक्समा रहेको यूएस–एडको खाता पनि शनिबारदेखि नै बन्द भएको छ ।

एजेन्सीको सार्वजनिक मामिला कार्यालयका सबै कर्मचारीलाई बिदामा बस्न भएिको थियो र उसको सबै प्रणालीहरु ‘लक’ गरिएको थियो । यसअघि मस्कले युएस–एडलाई एक ‘आपराधिक संगठन’ भन्दै ‘अब यो मर्ने बेला आयो’ भनेर एक्समा लेखेका थिए । अर्को पोस्टमा उनले ‘अब यसको मर्मत असम्भव भएको’ लेखेका थिए ।