नयाँ गीतका साथ गायक भुवन र बराल फर्किए

नयाँ गीतका साथ गायक भुवन र बराल फर्किए
  • २३ माघ २०८१, बुधबार ११:५९

काठमाडौं – पछिल्लो गीत ‘इंगेजज्मेन्ट’को भिडियो सार्वजनिक भएलगतै सांगीतिक भ्रमणको लागि सपनाको सहर अमेरिका पुगेका गायक भुवन प्यासी झण्डै ६ महिनाको अमेरिका बसाई पश्चात स्वदेश फर्केका छन् ।

मोफलमा रहेर नेपाली गीतसंगीतको क्षेत्रमा क्रियाशिल गायक भुवन प्यासीले पाँच दर्जन बढी गीतमा स्वर दिएका छन् । भुवन प्यासी आफ्नै गृहजिल्ला चितवनमा रहेर गीतसंगीतमा निरन्तर लागिरहेका गायक हुन् । उनले अमेरिकाका बिभिन्न स्टेटमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्ना दर्जनौ चर्चित गीत प्रस्तुत गरेका थिए ।

एउटा चलचित्र ब्यसायिक रुपमा सफल हुन जति पर्दामा देखिने कलाकारको भुमिका हुन्छ त्यो भन्दा बढी पर्दा बाहिर कामगर्ने प्राबिधिकहरुको हुन्छ । नेपाली चलचित्र क्षेत्रको उत्थान र विकासको लागि पर्दा पछाडि रहेर आफ्नो अतुलनीय योगदान दिँदै आएका कुशल छायाँकार रबिन्द्र बराल पनि गायक भुवनसंगै अमेरिकाबाट नेपाल फर्किएका छन् ।

झण्डै दर्जनको हाराहारी चलचित्र खिच्न भ्याएका छायाँकार बराल चितवन भरतपुर ५ का स्थानीय वासिन्दा हुन् । सामाजिक कथाबस्तुमा अधारित उनको पछिल्लो चलचित्र ‘जुनकिरी’ यतिबेला सम्पादनको क्रममा रहेको छ ।