ओलीमाथि प्रचण्डको संसद्मा प्रहार, गिरीबन्धुजस्ता ठुला ठगिका छानबिन कहिले ?

ओलीमाथि प्रचण्डको संसद्मा प्रहार, गिरीबन्धुजस्ता ठुला ठगिका छानबिन कहिले ?
  • २४ माघ २०८१, बिहीबार १४:५४

काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार मुकुम्लुङ(पाथिभरा)मा स्थानीयमाथि वार्ताको बाटो छाडेर दमन गरेको आरोप लगाएका छन् ।

बिहीबार संसदमा बोल्दै प्रचण्डले स्थानीयमाथि दमनको बाटो रोजेको आरोप लगाएका हुन् । उनले भने, ‘पाथिभरा र मुकुम्लुङको प्रश्‍न पनि छ। त्यो विवादमा सरकारले सिधैं जनतामाथि बल प्रयोग गर्नुभयो। त्यहाँको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्‍नुपर्नेमा दमनको बाटो रोज्‍ने प्रयास गरियो। म यसको गम्भीर ढंगले प्रतिवाद गर्न चाहन्छु।’

प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सामाजिक सञ्जाल विधेयकको विरोध गरे । ‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ,’ उनले भने ।

प्रचण्डले प्रश्न गरे, ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’