बालेन र रविदेखि आशिका तामाङसम्मको बचाउमा उत्रिए प्रचण्ड

बालेन र रविदेखि आशिका तामाङसम्मको बचाउमा उत्रिए प्रचण्ड
  • २४ माघ २०८१, बिहीबार १६:४८

काठमाडौं । सत्ताबाट बाहिरिएपछि राज्यसत्तासँग असन्तुष्ट व्यक्ति र समूहसँग अघोषित सहकार्यमा उत्रिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्ततः आशिका तामाङको पक्षमा उभिएका छन् । प्रतिनिधिसभाको विहीबारको बैठकमा सम्बोधन गर्ने क्रममा प्रमुख विपक्षी दलका नेता प्रचण्डले रवि लामिछानेलाई जनताको संज्ञा दिए ।

mulpatra

प्रचण्डले सम्झाइ बुझाइ गरेर टुंगो लगाउन सकिने विषयलाई मुद्दा चलाएर जिल्ला जिल्लामा बयानका लागि घुमाउने तरिकाले जनताप्रति सरकारको रवैया प्रष्ट भएको प्रचण्डले बताए । त्यस्तै बालेनको टिसर्ट लगाएर दरवारमार्गमा प्रधानमन्त्रीलाई हुटिङ गर्ने युवकलाई पक्राउ गरिएकोमा समेत प्रचण्डले आपत्ति जनाए । उनले सार्वजनिक सेवा प्रवाहमा असन्तुष्टि जनाएर अभियान चलाउने अभिन्यता भन्दै आशिका तामाङको पक्राउप्रति पनि प्रचण्डले आपत्ति जनाएका छन् ।

प्रचण्डले भने, ‘राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य भएको छ । सामान्य सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर नागरिकलाई एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाउने र कडा कडा मुद्दा लगाइँदैछ । टिसर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईँहरूले नागरिकलाई नियन्त्रणमा लिनुभएको छ । सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेलाई पनि थुन्नुभयो, मुद्दा चलाउनुभयो ।’

mulpatra mulpatra mulpatra

प्रचण्डले रविको पक्षमा संसदमा पटकपटक बोलेनन्मात्र रविमाथि राजनीतिक प्रतिशोध लिइएको बताए । उनले रास्वपाले पाएको २१ सीट कांग्रेस र एमालेको निगाहमा नआएको भन्दै रवि सहकारी ठगीमा कतै नजोडिएको दाबी गरे ।

रवि र बालेन अनि आशिका तामाङहरुको पक्षमा बोलेका प्रचण्डले यस्तै अभियानबाट उदाएका धरानका मेयर हर्क साम्पाङबारे भने केही पनि बोलेनन् । जबकी उनी पनि रित्तो गाग्री बोकेर पानी माग्दै सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रचण्डले हर्क साम्पाङ सिंहदरबार आएर गेटमा भएको लफडाबारे भने उनले केही बोलेनन् । धरानमा माओवादीकै उपमेयर अइन्द्र बेघासँग हर्कको लफडा परिरहेकाले प्रचण्ड उनको बारे मौन बसेका हुन् ।

प्रचण्ड प्रधानमन्त्री भएकै बेला बालुवाटारमा तत्कालीन कांग्रेस माओवादी गठबन्धनसहितका शीर्ष नेताको बैठकले महानगरको मेयर बालेन शाहलाई थुन्नेबारे छलफल गरे पनि सीके राउत र शेरवहादुर देउवाले नमानेको बताइएको थियो । बालेनले त्यसबेला श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको आक्रोशमा सिंहदरवार जलाउने धम्की दिएका थिए ।

Image Source: © https://mulpatra.com

त्यसबेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए । तर पछिल्लो समय सत्ताबाट बाहिरिएपछि प्रचण्ड बालेनहरुजस्तै लोकप्रियतावादी र सामाजिक संजालमा लोकप्रिय रहेका वा धेरै फलोअर्स रहेका अभियन्ताहरुलाई नचिढ्याउने रणनीतिमा छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र विशेषगरी उनको सचिवालयले अहिले व्यवस्थित ढंगले सामाजिक संजाल र अनौपचारिक संचारमाध्यमहरुको प्रयोगमा साधन,स्रोत र सीप परिचालन गरिरहेको छ । मूलधारका मिडियामा भन्दा सर्वसाधारणले अनौपचारिक सामाजिक संजाल र अनुत्तरदायी प्लेटफर्महरुका कन्टेन्टमा बढी रुची राख्ने र त्यस्ता कन्टेन्ट भाइरल हुने गरेकाले प्रचण्डको सचिवालयले सोही प्लेटफर्ममा जानेगरी मेहनत गरिरहेको छ ।

पछिल्लोपटक युट्युवर र सोसल मिडिया इन्फ्लुएन्सरहरुको समेत भेला गरेर प्रचण्डसँग भेटघाट समेत गराइएको र आशिका तामाङहरुजस्ताका समर्थकलाई समेत आफूतिर तान्न सोचबिचार गरेर संसदमा उनले सम्बोधन गरेको सचिवालय स्रोतले जनाएको छ ।

तेस्रोपटक प्रधानमन्त्री भएपछि प्रचण्डको साहित्यिक शैलीको तर छोटा र चोटिला वाक्यसहितको भाषणको शब्द संयोजन भने एक मूलधारकै मिडियाका प्रमुखले गर्नेगरेका छन् ।