Close

Recent Posts

१० दिनसम्म पनि नियन्त्रण भएन मनाङको डढेलो

१० दिनसम्म पनि नियन्त्रण भएन मनाङको डढेलो
  • २७ माघ २०८१, आईतवार १३:०३

काठमाडौं– मनाङको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

mulpatra

जटिल भौगोलिक संरचनाका कारण डँढेलो नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।

उनले भने, ’डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयवासी पनि सक्रिय भएर जङ्गलमा खटिनुभएको छ, तर हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।’ डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चौँरीका चरन क्षेत्र नष्ट भएका उनले बताए ।

’आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ’, आचार्यले भने, ’साथै राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन् ।’ जान सक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहेका उनले बतए । कठिन तथा जोखिम भिरमा आगलागी भएकाले डढेलो नियन्त्रणमा समस्या भएको उनको भनाइ छ । अन्यत्र आगो नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको भन्दै बस्तीमा आगलागीको जोखिम नरहेको उनले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले हिउँ पर्ने स्थानमा हिउँ नपर्नु, सुक्खा हुनुलगायत कारणले आगलागी भएको बताए । ’संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, हिउँ नपर्नु, वनजङ्गलमा रहेका सुकेका ठुटालगायत कारणले आगो लाग्ने गरेको हो,’ उनले भने । भुजेलका अनुसार राष्ट्रिय वन क्षेत्रमा लामो समय आगलागी हुँदा पशुपन्छी अन्यत्र सर्ने गरेका छन् । बासस्थान मासिँदै गएपछि यहाँका लोपोन्मुख वन्यजन्तु पूर्ण रूपमा लोप हुन सक्ने उनले बताए । आगलागीबाट जङ्गलमा भएका सल्लाको काठ, धुपीजस्ता बहुमूल्य तथा औषधीय जडीबुटीको विनास हुन सक्ने उनले बताए ।

जङ्गलमा भएका झिजा, पातपतिङ्गरले गर्दा आगो बढ्न सक्ने जोखिम यथावत रहेको भुजेलले बताए । ’सुक्खयाम र हुरीबतास चल्ने मौसमका कारण आगो नियन्त्रणमा लिन कठिन भएको छ,’ उनले भने । तत्काल जङ्गलमा आगलागी नियन्त्रण गर्न नसके यसको क्षेत्रफल बढ्ने उनको भनाइ छ । जङ्गलमा भएका वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटी डढेलोले नष्ट हुने थालेका उनले बताए ।

आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्नुका साथै चराचुरुङ्गी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नास हुन थालेको भुजेल बताउँछन् । यस वर्ष मङ्सिरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको कार्यालयले जनाएको छ । २०७७ मङ्सिर २ देखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । उक्त आगलागीका कारण मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो । तिमाङ जङ्गलमा लागेको डढेलो नियन्त्रणमा तीनै तहका सरकारले यथाशीघ्र प्रभावकारी पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।