वार्ता समिति नबनाएको भन्दै केवलकार विरोधी समूहद्वारा नयाँ चरणको आन्दोलन घोषणा

वार्ता समिति नबनाएको भन्दै केवलकार विरोधी समूहद्वारा नयाँ चरणको आन्दोलन घोषणा
  • २८ माघ २०८१, सोमबार १६:०६

काठमाडौं– ताप्लेजुङको पाथिभारामा केवलकार निर्माणको विरोधमा उत्रिएको समूहले नयाँ चरणको आन्दोलन घोषणा गरेको छ । माघ २७ गते बेलुकीसम्म उच्च स्तरीय वार्ता समिति गठन गर्न अल्टिमेटम दिइएकोमा सरकार त्यसमा गम्भीर नदेखिएको आरोप आन्दोलनकारीहरुको छ ।

सरकार र आन्दोलनकारीबीच दुई चरणमा वार्ता भए पनि विनास्किर्ष टुंगिएको थियो । आन्दोलनकारी समूहले संघीय गृहमन्त्री नै वार्ता गर्न आउनुपर्ने अड्डी लिएका छन् । आन्दोलनकारी समूहबाट आज जारी विज्ञप्तिमा सरकार आफ्नो प्रतिवद्धताप्रति इमान्दार नभएको, वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको तथा निर्णायक वार्ता समिति बनाउन पनि अनिच्छुक देखिएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्णायक उच्चस्तरीय वार्ता समिति नबनाई अल्मलाउने, थकाउने र लोकतान्त्रिक मूल्य–मान्यताको धज्जी उडाएर जसरी पनि केबलकार बनाउने मुडमा सरकार रहेको देखिएको हुँदा सडकमा जान वाध्य भएका छौं ।’

विज्ञप्तिमा माघ २९ गतेदेखि फागुन ९ गतेसम्मका लागि ७ वटा आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । आइएमइ समूह बहिष्कार गर्नेदेखि फुङलिङ नगरपालिका घेराउसम्मका कार्यक्रम राखिएका छन् । अनिश्चितकालीन यातायात बन्द र आमहड्तालको समेत घोषणा गरिएको छ ।