जसपा नेपालद्वारा भूमिसम्बन्धी अध्यादेश अस्वीकार अब के गर्छ सरकार

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी (जसपा) ले भूमि सम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशमा सदनमा सहमति नजनाउने निर्णय गरेको हो ।
माघ २४ को सदनको कार्यसूचीमा अध्यादेश राखेको सरकारले जसपाको आधिकारिक धारणा नआएकाले कार्यसूचिबाटै हटाएको थियो । आज जसपा पार्टीको संसदीय दलको बैठकमा भूमि सम्बन्धी अध्यादेश स्वीकार नगर्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक रेखा यादवले बताइन् ।
जसपाले आज सार्वजनिक गरेको विज्ञप्तीमा भनेको छ ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमा तथा क्षेत्र समेत नतोकी विक्री वितरण गर्ने वा बाड्न ल्याइएको देखिन्छ । यो अध्यादेशप्रति हाम्रो गम्भीर असहमति र विरोध रहेको छ ।’
राष्ट्रियसभामा कांग्रेसका १६ र एमालेका १० सांसद छन् । त्यसबाहेक एमालेकै नेतृ अञ्जना शाक्य मनोनीत कोटाबाट सदस्य छन् । बामदेव गौतमले पनि सरकारलाई नै सहयोग गरे लोसपाको एक सांसद गरी सत्ता गठबन्धनसँग २९ सांसद मात्र छन् । ५९ सदस्यीय राष्ट्रियसभामा बहुमत हुनका लागि ३० सांसद चाहिन्छ । यस हिसाबमा अध्यादेश पास गराउनमा जसपा नेपाल राष्ट्रियसभामा निर्णायक अवस्थामा छ ।
भूमि सम्बन्धी अध्यादेशको विरोधमा रहेपनि अन्य ५ वटा अध्यादेशलाई समर्थन गर्ने जसपाले निर्णय गरेको छ ।
