नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड मृत्युहुनेको संख्या १८ पुग्यो
काठमाडौं । भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडमा परी १४ महिलासहित १८ जनाको मृत्यु भएको छ । अन्य कैयौँ घाइते भएका छन् । कुम्भ मेला चलिरहेको प्रयागराज जाने रेल चढ्न प्लेटफर्म नम्बर १४ र १५ मा कुरेर बसेका यात्रुको भीडका कारण यो घटना भएको हो । १५-२० मिनेटको अन्तरालमा यात्रुहरू अगाडि बढ्न थालेपछि होहल्ला र धकेलाधकेल शुरु भयो, जसका कारण धेरै हताहत र घाइते भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार प्लेटफर्म नम्बर १४ र १५ मा दुई वटा रेल ढिला भएका कारण भीड बढेको थियो । कुम्भ मेलातर्फ जाँदै गरेको विशेष रेलमा चढ्न मानिसहरू दौडिए र स्थिति नियन्त्रणबाहिर गयो। अकस्मात् मानिसहरूको ओहोरदोहोरले गर्दा केही यात्रुहरू बेहोस भए र भागदौड मच्चिएको अफवाह फैलाए, जसले थप भागदौड निम्त्यायो र स्थिति नियन्त्रण बाहिर गएको भारतीय सन्चार माध्यमले लेखेका छन् ।
