ताप्लेजुङको फुङलिङमा हिजो साँझ झडप भएपछि अनिश्चितकालीन निषेधाज्ञा जारी
काठमाडौं – ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । आइतबार बिहान ५ बजेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिकाका चार किल्ला तोकेर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

नो केबलकार पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको थियो । प्रदर्शन र जुलुसका कारण स्थानीय स्तरमा प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएपछि शनिबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो ।
फुङलिङ नगरपालिका बजार क्षेत्रको पूर्वमा वडा नम्बर ७ सल्लेरी, पश्चिममा वडा नम्बर ७ घोडेचौरको थलाङ धारा क्षेत्रसम्म, उत्तरमा वडा नम्बर ४ उकालीपानी र दक्षिणमा वडा नम्बर ६ शेर्पा टोलको भेटनरी कञ्चनजंघा टोलसम्मको क्षेत्रमा निषेधाज्ञा तोकिएको छ ।
![]() |
![]() |
![]() |
|---|
त्यस्तै काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रमा पूर्वमा पर्यटक प्रहरी भवनको १०० मिटर इलाका र पश्चिममा बल्लुडाँडा÷डडेले इलाकामा निषेधाज्ञा तोकिएको छ । निषेधित क्षेत्रमा ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस प्रदर्शन घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।



