ओली कपमा दर्शक कुट्नेमाथि सरकारकै संरक्षण, ओलीको विरोध गर्नेमाथि आक्रमण गर्न चार हजार कार्यकर्ता खटाइएको पुष्टि
काठमाडौं–प्रधानमन्त्री केपी ओलीकै अगाडि रंगशालाभित्र दर्शक कुट्ने एमाले कार्यकर्ताले सत्ताको संरक्षण पाएका छन् । सोमबार साँझ दशरथ रंगशालामा ‘केपी ओली कप’ फुटबलको फाइनल खेलका क्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने दर्शकमाथि जंग तामाङसहितका कार्यकर्ताले आक्रमण गरेका थिए ।

स्पष्ट चिनिने गरी सामाजिक सञ्जालमा कुटपिटका भिडियो ‘भाइरल’ हुँदासम्म पनि ‘उजुरी नआएको’ भन्दै उल्टै संरक्षण दिएको छ । कुटपिटमा संलग्न सिन्धुपाल्चोक घर भएका तामाङ युवा संघमा आबद्ध छन् ।
रंगशालामा खिचिएको एउटा भिडियो भाइरल भएको रहेछ । भिडियोबारे प्रहरीलाई नोटिस छ । अहिले भिडियो भेरिफाई गर्ने काम भइरहेको छ । हालसम्म कसैको आधिकारिक उजुरी पनि आएको छैन । प्रहरीले थप छानबिन पनि गरेको छैन ।
![]() |
![]() |
![]() |
|---|
सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्री, मन्त्री, दलका नेता वा उच्चपदस्थमाथि नागरिकले असन्तुष्टि प्रकट गरेको यो नै पहिलो होइन । विगतमा पनि यस्ता नाराबाजी भएका थिए । यस्तो अवस्थामा सुरक्षामा खटिएका प्रहरीले परिस्थिति शान्त पार्न सक्छन् । तर, सोमबार युवा संघका दुई युवकले दर्शकमाथि मुक्का हानिरहँदा सुरक्षामा खटिएका सुरक्षाकर्मी उल्टै मुक्का खानेमाथि नै खनिएको सार्वजनिक भिडियोमा देखिन्छ ।
गत १४ कात्तिकमा दशरथ रंगशालामै भएको साफ महिला च्याम्पियनसिप प्रतियोगितामा समेत प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको थियो । सोमबार पनि प्रधानमन्त्रीविरुद्ध कसैले नारा लगाए ‘ठिक पार्न’ भन्दै युवा संघले चार हजारभन्दा धेरै युवा रंगशालामा उतारेको थियो । एन्फाले १६ हजार टिकट बिक्री गरेको थियो । तर, युवा संघले शक्तिको आडमा चार हजार कार्यकर्तालाई निःशुल्क प्रवेश पास बाँडेको स्रोतको दाबी छ ।
प्यारापिटका हरेक ब्लकमा युवा संघका कार्यकर्ता खटिएका थिए । उनीहरूलाई ओलीविरुद्ध नारा लगाउने दर्शक पहिचान गर्ने र रंगशालाबाट बाहिर निकाल्ने निर्देशन थियो । सोही निर्देशनअनुसार सोमबार कुटपिट भएको प्रहरी स्रोतले बतायो ।
Image Source: © https://mulpatra.com
सांसदहरूले रंगशालामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने दर्शकलाई कुट्नेमाथि कारबाहीको माग गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले रंगशालाभित्रै देखादेखी दर्शक कुट्नेलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । सत्ता र शक्तिको बलमा परिचालित पद्धति अन्त्य हुनुपर्ने उनको माग छ ।



