राजालाई ‘काउन्टर’ दिएर मात्र माओवादी अभियानमा फेरी फर्किने

काठमाडौं– नेकपा माओवादी केन्द्रले गणतन्त्र र संविधान रक्षाका लागि काठमाडौंमा प्रदर्शन गरेरमात्रै अभियानमा फर्किने निर्णय गरेको छ ।
पार्टी तराईं मधेश जागरण अभियानमा केन्द्रित हुँदा काठमाडौंका सडक खाली भएकाले राजावादीहरूले मौका पाएको निष्कर्ष निकालेको सचिव डोरप्रसाद उपाध्यायले बताए । उनले भने, ‘अहिले हामी समीक्षामा छौं । यो प्रदर्शनबारे सरकारको राय पनि बुझ्छौं । सबै गणतन्त्रवादी शक्तिहरूलाई एकजुट बनाएर काठमाडौंको सडक र सदनलाई पनि प्रभावकारीरूपमा प्रस्तुत भएरमात्रै अभियानमा फर्किन्छ ।’
उनले अहिलेसम्म अभियानले नयाँ जागरण पैदा गरेको भन्दै काठमाडौं केन्द्रित कार्यक्रम गरेपछि मात्रै नयाँ कार्यतालिका सार्वजनिक गर्ने बताए । आन्दोलनबारे छलफल गर्नको लागि आज समाजवादी मोर्चाको बैठक अपरान्ह ४ बजे प्रचण्डले सिंहदरबारमा डाकेका छन् । भोलि बस्ने पदाधिकारी बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।
प्रचण्डले आज खुमलटारमा परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जाने स्थिति बन्न खोजिरहेको ब्रिफिङ गरेको सचिव उपाध्यायको भनाइ छ । व्यवस्थाविरुद्ध राजतन्त्रवादीहरूको प्रयासको कारणबारे अध्ययन गरिने उनले बताएका थिए ।
प्रचण्डले यही विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि संवाद गर्ने तयारीमा आफू रहेको बताएका छन् ।