राजावादी–गणतन्त्रवादी प्रदर्शन:काठमाडौंमा उच्च सतर्कता, सवारी आवागमनमा समस्या
काठमाडौं । शुक्रवार काठमाडौंमा हुने विभिन्न प्रदर्शनका क्रममा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउने भएको छ । पूर्वराजा पक्षीय दुर्गा प्रसाईँहरूले चक्रपथ भित्र प्रवेश नपाउने र समाजवादी मोर्चाका प्रदर्शनकारीले चक्रपथबाहिर निस्कन नपाउने गरी सुरक्षा योजना बनेको प्रहरी स्रोतले जनाएको छ ।

शुक्रवार राजसंस्था पक्षधरले कोटेश्वर र समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शनको आयोजना गरेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार उच्च सतर्कताका साथ सुरक्षा योजना बनाइएको छ । त्यसअन्तर्गत उपत्यकाका विभिन्न भागमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।
नेपाल प्रहरीले रानीपोखरी र भद्रकाली क्षेत्रमा मात्रै ३ हजार जनशक्ति तैनाथ गर्दैछ । यसबाहेक काठमाडौंमा अवस्थित विभिन्न गण र गुल्मबाट थप ११ सय १६ प्रहरी जनशक्ति परिचालन गर्ने तयारी छ । प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रमुख एसएसपी विनोद घिमिरेले बताए ।
![]() |
![]() |
![]() |
|---|
वैकल्पिक ट्राफिक व्यवस्थापन (डाइभर्सन)० का विषयमा शुक्रवार ११ बजेपछि योजना बनाइने भएको उनले बताए । दुबै किसिमका प्रदर्शनलाई दृष्टिगत गर्दै उपत्यकाका विभिन्न स्थानमा बिहान १० बजेबाटै सुरक्षा जनशक्ति परिचालन गरिने भएको छ ।
२,५०० प्रहरी र १,७५० सशस्त्र प्रहरी तयारीमा
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङका अनुसार सुरक्षाका लागि २५ सय प्रहरी शुक्रबारका लागि खटाइने छ ।
Image Source: © https://mulpatra.com
आवश्यकता अनुसार यसको संख्या समेत बढ्न सक्ने उनी बताउँछन् । ‘सुरक्षाबारे सम्पूर्ण तयारी गरिसकेका छौं । २५ सय बढी प्रहरी परिचालन हुन्छ । आवश्यकता देखियो भने त्योभन्दा बढी पनि परिचालन हुन सक्छन्’ उनी भन्छन् ।
सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन हुनेछन् । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरुको पहिचान गर्न सादा पोशाकका प्रहरीले सहयोग गर्ने बताइएको छ ।
यता सशस्त्र प्रहरीले पनि सबै तयारी पूरा भइसकेको बताएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार भोलि १५ गते ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन हुन्छन् । न्यौपानेको भनाइलाई आधार मान्दा सशस्त्र प्रहरीमात्रै साढे १७ सय परिचालन हुने देखिन्छ । सशस्त्रको एक प्लाटुनमा ३५ जनाको फौज हुन्छ ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले पनि पछिल्लो राजनीतिक अवस्था र १५ चैतमा हुनसक्ने सम्भावित चुनौतीको विश्लेषण गरेको छ । त्यसैलाई आधार मान्दै सशस्त्र प्रहरीले आफ्नो सुरक्षा रणनीति बनाएको छ ।
प्रहरीको सहयोगीका रुपमा सशस्त्र प्रहरी खटिने भएकाले पहिलो भीड नियन्त्रणको पहिलो भूमिका प्रहरीले निभाउने छ । यसका लागि सूचना संकलनको रुपमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को टोली पनि खटिने छ ।



