Close

Recent Posts

शिक्षा विधेयक पारितगर्न सरकारले ढाक्यो सदन, महासंघले भन्यो आन्दोलन जारी रहन्छ

शिक्षा विधेयक पारितगर्न सरकारले ढाक्यो सदन, महासंघले भन्यो आन्दोलन जारी रहन्छ
  • ३ बैशाख २०८२, बुधबार ०८:४२

काठमाडौं । सरकारले संघीय संसद्को बैठक वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको छ। शिक्षामन्त्री विद्या भट्टराईका अनुसार संसद अधिवेशन बोलाउनुको उद्देश्य विद्यालय शिक्षा विधेयकलाई पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्नु हो।

mulpatra

दुई सातादेखि आन्दोलनरत शिक्षक महासंघका मागहरूका सन्दर्भमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको र सरकार गम्भीर तथा संवेदनशील रहेको मन्त्री भट्टराईले बताइन्। उनले गत वर्ष सरकार र महासंघबीच भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

सरकारले हाल एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन भइरहेकाले प्रदर्शन स्थगन गरी शिक्षण क्षेत्रमा फर्कन शिक्षकहरूसँग अनुरोध गरेको छ।

शिक्षा विधेयक लामो समयदेखि संसदमा विचाराधीन अवस्थामा रहेकाले अब यसलाई यथासक्य चाँडो पारित गर्ने सरकारको तयारी देखिएको छ। बैठकमा अभिभावक र विद्यार्थीको हितलाई ध्यानमा राख्दै आन्दोलन शान्तिपूर्ण रूपमै समाधान गर्न संवादको ढोका खुला राख्ने निर्णय गरिएको छ।

यता शिक्षक महासंघले भने सरकारप्रति पूर्ण विश्वास गर्ने आधार नरहेको भन्दै आन्दोलन निरन्तर चलिरहने बताएको छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आन्दोलन स्थगित नहुने र अन्तिम लडाईका लागि देशभरका शिक्षकहरूलाई काठमाडौं आउन पनि आग्रह गरेका छन्।