सोमबारको नेप्सेमा ७ अंकको गिरावट, कारोबार रकम ८ अर्ब ७७ करोड नाघ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबारको कारोबार दिन परिसूचक ओरालो लागेको छ। कारोबार समयभर उकालो–ओरालो भएको नेप्से अन्त्यमा ७.७५ अंकले घट्दै २,६९८.०१ विन्दुमा झरेको हो। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा केही कमजोर देखिए पनि समग्र कारोबार रकम भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ।

आज कुल ३१९ कम्पनीका २ करोड १२ लाख ३ हजार ५५२ कित्ता सेयर किनबेच भएका छन्। यसबाट कूल कारोबार रकम ८ अर्ब ७७ करोड ५७ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् आइतबार ८ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
कारोबारमा सक्रिय रहेका कम्पनीहरूमध्ये १३३ कम्पनीको सेयरमूल्य घटेको छ भने ११२ कम्पनीको मूल्य बढेको छ। बाँकी ७४ कम्पनीको सेयरमूल्य स्थिर देखिएको छ।
![]() |
![]() |
![]() |
|---|
सेक्टोरियल हिसाबले हेर्दा आज ५ वटा समूहमाको सूचकमा गिरावट आएको छ भने बाँकी ८ समूहको परिसूचक भने बढेको देखिन्छ। सबैभन्दा धेरै गिरावट व्यापार समूहमा देखिएको छ भने बैंकिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, जीवन बीमा र अन्य समूहहरू पनि ओरालो लागेका छन्। उता, वित्त, माइक्रोफाइनान्स, निर्जीवन बीमा, विकास बैंक, हाइड्रोपावर र लगानी समूह लगायतका परिसूचक भने थोरै मात्रामा उकालो लागेका छन्।
सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल टेलिकम, नबिल बैंक, शिवम् सिमेण्ट, एनआईसी एशिया बैंक, र काठमाडौं फाइनान्स रहेका छन्। लगानीकर्ताको चासो मुख्यत: ठूला र स्थिर प्रतिफल दिने कम्पनीहरूमा देखिएको छ।
आजको कारोबारले लगानीकर्ताहरूमा अलि अलि सावधानीपन देखिएको संकेत गर्छ। आर्थिक तथा राजनीतिक स्थायित्वबारे अनिश्चितता, मौद्रिक नीतिको अपेक्षा, ब्याजदर र विदेशी लगानीको अवस्थाजस्ता कुराले बजार मनोविज्ञानमा असर गरेको विश्लेषकहरू बताउँछन्।
Image Source: © https://mulpatra.com
लगानीकर्ताहरू अब आगामी दिनमा बजार कुन दिशातर्फ उन्मुख हुन्छ भन्ने विषयमा सतर्क रहेका छन्। नेप्सेले फेरि २७ सय विन्दु पार गर्ने संकेत दिन्छ वा अझै घट्ने जोखिममा जान्छ भन्ने कुरा अबको समग्र आर्थिक संकेतकहरूमाथि निर्भर रहनेछ।



