मधेश प्रदेशका मुख्यमन्त्रीले बुधवार विश्वासको मत लिने
मधेश प्रदेश का मुख्यमन्त्री कृष्ण प्रसाद यादव ले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आइतवार बसेको सत्ता साझेदार चार दलको बैठकले वर्तमान सरकारलाई निरन्तरता दिने र यथाशीघ्र विश्वासको मत लिने निर्णय गरेको हो । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा मुख्यमन्त्री यादवकै नेतृत्वमा सरकार अगाडि बढाउने सहमति भएको उल्लेख गरिएको छ ।

मुख्यमन्त्री यादव, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता सरोज कुमार यादव, नेपाल कम्युनिष्ट पार्टी दलका नेता युवराज भट्टराई तथा लोकतान्त्रिक समाजवादी पार्टी की नेतृ एवं शिक्षा मन्त्री रानी शर्मासहितको बैठकमा सरकारको कामकारबाही सुधार गर्दै गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।
जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार संकटमा परेको भए पनि गठबन्धन दलहरूले विश्वासको मत सहज रूपमा प्राप्त हुने दाबी गरेका छन् । यता सरकारमा सहभागी जनमत पार्टीका मन्त्रीहरूको भूमिकाबारे पनि चासो बढेको छ ।
![]() |
![]() |
![]() |
|---|
जनमतबाट अर्थमन्त्री महेश प्रसाद यादव र खेलकुद तथा समाजकल्याण मन्त्री वसन्त कुशवाहा सरकारमै रहेकाले उनीहरूले विश्वासको मतमा के भूमिका खेल्छन् भन्ने प्रतीक्षा गरिएको छ । गठबन्धन स्रोतका अनुसार विश्वासको मतमा साथ नदिए मन्त्रीहरूलाई हटाउने तयारी छ भने जनमतकै सिफारिसमा नयाँ मन्त्री समावेश गर्ने सम्भावनासमेत रहेको बताइएको छ ।



