Close

Recent Posts

नेपाल आतंकवादविरुद्ध दृढ: मन्त्री डा. आरजु राणा देउवा

नेपाल आतंकवादविरुद्ध दृढ: मन्त्री डा. आरजु राणा देउवा
  • १३ बैशाख २०८२, शनिबार १९:१७

काठमाडौं  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सधैँ आतंकवादको विरुद्धमा दृढतापूर्वक उभिएको स्पष्ट पारेकी छन्। उनले जुनसुकै स्वरूप र उद्देश्यका आतंकवादी गतिविधिको नेपालले सदैव कडा शब्दमा भर्त्सना गर्ने बताएकी हुन्।

mulpatra

भारतको जम्मु–काश्मिरस्थित पहलगाम क्षेत्रमा हालै भएको आतंकवादी हमलामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपाल शान्तिको पक्षधर रहेको धारणा राखेकी हुन्।

“नेपालले आतंकवादको सबै प्रकार र अभिव्यक्तिको कडा निन्दा गर्दछ,” मन्त्री राणाले भनिन्, “जहिले, जहाँ र जुन उद्देश्यका लागि भए पनि आतंकवादी गतिविधिको विपक्षमा नेपाल उभिन्छ।”

mulpatra mulpatra mulpatra

उनले आतंकवादप्रति व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने उल्लेख गर्दै नेपालले आफ्नो भूमि कुनै पनि आतंकवादी क्रियाकलापका लागि प्रयोग हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरिन्।

मन्त्री राणाले पहलगाम त्रासदीमा परेका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन भारत सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरिन्। साथै, हमलामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिन्।

नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दै उनले दुई देशबीचको सम्बन्ध केवल कूटनीतिक नभई साझा इतिहास, संस्कृति र परम्परामा आधारित रहेको स्मरण गराइन्। “खुसी होस् वा संकट, नेपाल र भारत जहिले एकअर्काको साथमा उभिन्छन्,” उनले भनिन्, “विशेषगरी नेपालमा गएको भूकम्पपछिको भारतको तत्कालीन सहयोग यसको ज्वलन्त उदाहरण हो।”

Image Source: © https://mulpatra.com

कार्यक्रममा मन्त्री राणाले नेपाल आतंकवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाउँदै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।