एमबीबीएस र बीडीएसको सिट र शुल्क बढाउने गरी प्रतिवेदन तयार
काठमाडौं– एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरवलोकन कार्यदलले निजी मेडिकल कलेजलाई एमबीबीएस र बीडीएसमा सिट संख्या बढाउने गरी प्रतिवेदन तयार पारेको छ ।

चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले वैशाख ३ गते मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरवलोकन गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले आयोगको १९ औँ बैठकमा प्रतिवेदन बुझाउने निर्णय भएको थियो ।
कार्यदलले ‘मापदण्ड पुगेका’ मेडिकल कलेजलाई एमबीबीएसको सिट संख्या १५० सम्म बढाउने गरी प्रतिवेदन तयार पारेको जनाईएको छ। हाल एमबीबीएसमा प्रतिकलेज १ सय सिट संख्या तोकिएको छ ।
एमबीबीएस र बीडीएसको सिट संख्या बढ्ने भए पछि नै निजी मेडिकल कलेज सञ्चालकहरुले आवासीय चिकित्सकहरुलाई आयोगको १८ औँ बैठकको निर्णय बमोजिम निर्वाह भत्ता दिन तयार भएका हुन् ।
निजी मेडिकल कलेज सञ्चालकहरु एमबीबीएस र बीडीएसको सिट संख्या बढे पछि मात्र पीजी गर्ने आवासीय चिकित्सकहरुलाई तोकिएको निर्वाह भत्ता दिने अडान लिएका थिए । कार्यदलले बुझाएको प्रतिवेदनमा आयोगको आज बसेको १९ औँ बैठकमा छलफल हुने छ ।
