भारत पाकिस्तान तनावले रोकिएको आइपिल सुरु हुँदै
काठमाडौं । केही समयका लागि स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि पुनः सुरु हुँदैछ। भारत–पाकिस्तानबीचको बढ्दो राजनीतिक तनावका कारण अस्थायी रूपमा रोकिएको प्रतियोगिता फेरि लयमा फर्कन लागेको हो। बीसीसीआईले अघिल्लो शुक्रबार आकस्मिक बैठक डाक्दै आईपीएलका सबै खेलहरू एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको थियो।

आईपीएल पुनः सुरु हुँदा पहिलो खेल रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स बीच हुनेछ। बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा आज बेलुकी पौने ८ बजे बाट खेल सुरु हुनेछ। यो खेल प्लेअफ समीकरणका हिसाबले अत्यन्तै निर्णायक मानिएको छ।
हालसम्म गुजरात टाइटन्स र बेंगलुरु समान १६ अंकसहित शीर्ष दुई स्थानमा छन्। तेस्रो स्थानमा पञ्जाब किङ्स (१५ अंक), चौथोमा मुम्बई (१४ अंक), र पाँचौंमा दिल्ली (१३ अंक) रहेका छन्। यता, कोलकाता र लखनउको प्लेअफ पुग्ने सम्भावना न्यून हुँदै गएको छ। कोलकाताले आजको खेल हार्ने हो भने चौथो टिमका रूपमा प्लेअफ दौडबाट बाहिरिनेछ।
![]() |
![]() |
![]() |
|---|
तर, कोलकाताले जित निकाल्न सकेमा उसले आफ्नो झिनो आशा जिवित राख्नेछ भने बेंगलुरुले प्लेअफमा पुग्ने पहिलो टिमको ट्याग पक्का गर्नेछ।
यसअघि बिहीबारको खेल बीचमै रोकिँदा लिग अनिश्चित अवस्थामा पुगेको थियो। अब पुनः सञ्चालनसँगै दर्शक र क्रिकेट विश्लेषकहरू प्लेअफ समीकरण र शीर्ष चारको लडाइँमा केन्द्रित भएका छन्।
आईपीएल विश्वकै सबैभन्दा लोकप्रिय लिगहरूमध्ये एक हो, र यसपटकको संस्करण राजनीतिक परिस्थितिका बाबजुद उत्साहपूर्वक सम्पन्न हुने अपेक्षा गरिएको छ।
Image Source: © https://mulpatra.com



