कृषिको दिगो विकासका लागि स्पष्ट नीति र प्रभावकारी सहजीकरणको माग

कृषिको दिगो विकासका लागि स्पष्ट नीति र प्रभावकारी सहजीकरणको माग
  • ५ जेष्ठ २०८२, आईतवार २२:५७

काठमाडौं । नेपालका विभिन्न कृषि व्यवसायसँग सम्बन्धित संघसंस्थाहरूले कृषिको दिगो विकासका लागि सरकारले स्पष्ट नीति, प्रविधिको हस्तान्तरण, बीमा सुविधा, बजार व्यवस्थापन र सहजीकरणको पक्षमा तत्काल प्रभावकारी कदम चाल्नुपर्ने र आगामी बजेटमा त्यस्ता कुरा सम्बोधन गरेर जान माग गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा नेपाल कुचो संघ, नेपाल यार्सागुम्बा संघ, रुद्राक्ष व्यवसायी संघ र नेपाल डेरी एसोसिएसनको संयुक्त आयोजनामा आयोजित “कृषि क्षेत्रका चुनौती, सम्भावना र नवप्रवर्तनको खोजी” विषयक छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले आ–आफ्ना क्षेत्रका समस्याहरू स्पष्ट रूपमा प्रस्तुत गरेका हुन्।

नेपाल उद्योग बाणिज्य महासंघका सदस्य, कृषि उद्यम केन्द्रका उपसभापति तथा नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, विशिष्ट अतिथिमा निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे, बाणिज्यसंघका सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति डि.वि. बस्नेत रहेका थिए ।

कार्यक्रमलाई स्वागत गर्दै नेपाल यार्सागुम्बा संघका अध्यक्ष निराजन चलाउनेले नेपालमा कृषि उपजहरुको उत्पादन, प्रशोधन र बजारीकरण देखिएका समस्यालाई निराकरण गर्न सरकारले ढिला गरिरहेकोले तत्काल बजेट मार्फत यस्ता वस्तुहरुको सम्बोधन हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड को रुपमा रहेको र यस्तो अवस्थामा कृषिसँग सम्बन्धित समस्याहरू, चुनौतीहरू र सम्भावनाबारे सार्वजनिक रूपमा बहस हुनु जरुरी रहेको बताएका छन । उनले कार्यक्रम गर्नुपर्ने खास कारण बताउँदै कृषि व्यवसायी र किसानका आवाज बुलन्द गर्न, नीति निर्माणमा योगदान गर्न, कृषिका विविध आयामलाई प्रतिनिधित्व गर्ने खालको समावेशी दृष्टिकोण बनाउन र सरकार र सरोकार संस्थालाई दबाब सिर्जना गर्ने काममा निरन्तर लागि रहने बताएका छन् ।

कार्यक्रममा नेपाल पलाइउड एसोसिएसनका अध्यक्ष होमप्रसाद घिमिरेले कृषि उपजसँग सम्बन्धित उद्योगहरूमा बीमा व्यवस्था नहुनु दुःखद भएको भन्दै सरकारलाई यस विषयमा अध्ययन गरी सहजीकरण गर्न आग्रह गरे। उनले पलाइउड उद्योगले रोजगारी र राजस्वमा महत्वपूर्ण योगदान गर्नसक्ने बताए।

नेपाल बिउ व्यवसायी संघका अध्यक्ष सुरेश गुरुङले सरकारी लापरवाहीका कारण अर्बौंको बीउ विदेशबाट आयात हुनुपरेको उल्लेख गर्दै रैथाने बीउको संरक्षण र प्रवर्द्धनमा जोड दिए। निवर्तमान अध्यक्ष बसन्त मरहठाले आउँदै गरेको कृषि ऐन किसानमैत्री हुनुपर्नेमा जोड दिँदै बीउ उत्पादन वृद्धिमा ध्यान दिन आग्रह गरे।

नेपाल कृषि मेशिनरी व्यवसायी संघकी उपाध्यक्ष सुनिता नेम्हाफुकीले सार्वजनिक खरिद ऐनले व्यवसायीहरूलाई बाधा पुर्‍याइरहेको उल्लेख गर्दै सो ऐनको संशोधनको माग गरिन्। उनले करार खेती प्रोत्साहन र उपकरणको गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्।

नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जलवायु परिवर्तनका कारण उत्पादनमा ह्रास आएको बताउँदै जलवायु मैत्री प्रविधि र विरुवा उत्पादनमा सरकारले ध्यान दिनुपर्ने बताए। उनले बीमा कम्पनीहरूले चासो नदिँदा किसान मारमा परेको उल्लेख गरे।

नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले कफिलाई मध्यपहाडी क्षेत्रमा ‘पकेट जोन’ घोषणा गर्नुपर्ने बताए। बीमा सुविधा कागजमा मात्र सीमित भएको भन्दै उनले कफिको निर्यातका लागि सरकारले गम्भीर प्रयास गर्नुपर्ने धारणा राखे।

नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले कृषिजन्य उपजको प्रमाणीकरण र निर्यातका लागि ल्याबको व्यवस्था अपर्याप्त भएको बताए। अध्यक्ष प्रल्हाद दाहालले मोही प्रवर्धनका कार्यक्रमबारे जानकारी दिँदै बजार विस्तारमा सरकारी सहकार्यको आवश्यकता औँल्याए।

नेपाल कोल्ड स्टोरेज संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले महँगो विद्युत महसुल र बीमाको कानुनी अभावले किसान समस्यामा परेको बताए। फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेश भक्त श्रेष्ठले १३ प्रतिशत भ्याट र क्वारेन्टाइनको अवरोधका कारण पुष्प व्यवसाय धराशायी भएको गुनासो गरे।

कनेक्ट किसानका कार्यकारी निर्देशक राजन दाहालले प्रविधि हस्तान्तरणमा सरकारी सक्रियता आवश्यक रहेको बताए भने निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले स्वदेशमा मल उत्पादन गरेर वैदेशिक निर्भरता घटाउनुपर्ने धारणा राखे।

नेपाल कत्था संघका अध्यक्ष शिवप्रसाद घिमिरेले निर्वाहमुखी कृषिबाट व्यवसायिक कृषिमा रूपान्तरण गर्न जोड दिँदै कृषि ढुवानीका लागि ‘कृषि नम्बर प्लेट’ लागू गर्न माग गरे। फल्याट एसोसिएसनका अध्यक्ष नरेश प्रधानले बाँझो जमिन कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले कृषि क्षेत्रको दीगो रूपान्तरणका लागि नीतिगत स्पष्टता, व्यवसायमैत्री कानुनी संरचना, बीमा, गुणस्तरीकरण, प्रविधि हस्तान्तरण र निर्यात सहजीकरणलाई अनिवार्य पूर्वाधारका रूपमा पहिचान गर्न सुझाव दिए।

कार्यक्रममा उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्रका तर्फबाट कृषिमा केन्द्रले गरेको कार्यक्रमको समिक्षा समेत प्रस्तुत गरिएको थियो । नेपाल रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईले सन्चालन गरेको कार्यक्रममा सबै अतिथिहरुलाई रुद्राक्षको माला लगाई सम्मान गरिएको थियो भने डेरी एसोसिएसनले विक्री वितरण गरिरहेको मोही, कुचो मायाका चिनोको रुपमा दिइएको थियो ।