Close

Recent Posts

भिजिट भिसाका करोडौं ठगि, कर्मचारीकै सेटिङ मानव तस्करी

भिजिट भिसाका करोडौं ठगि, कर्मचारीकै सेटिङ मानव तस्करी
  • ९ जेष्ठ २०८२, बिहीबार १२:४२

काठमाडौं– अध्यागमन विभागमा खटिएका सरकारी कर्मचारीकै मिलेमतो र सेटिङमा मानव तस्करी हुने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नक्कली कागजातका आधारमा सेटिङमा भिजिट भिसा मिलाएर व्यक्तिहरूलाई विदेश पठाइने गरेको खुलेको हो ।

mulpatra

सरकारी कर्मचारीभित्रै मानव तस्करीमा संलग्न गिरोहसँगको साँठगाँठ हुने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार अध्यागमन विभागमा छापा मारेको थियो ।

पछिल्लो समय यूएई, साउदी अरब भिजिट भिसामा पठाउन ५० देखि ७५ हजार रुपैयाँ प्रतिव्यक्तिसम्म संकलन गर्ने गरिएको थियो भने युरोप जानलाई ३ देखि ४ लाख रुपैयाँसम्म लिने गरिएको खुलेको अख्तियारका एक अधिकारीले बताए ।

mulpatra mulpatra mulpatra

आयोगले छापा मारेर विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई र विभागका कागजातसमेत नियन्त्रणमा लिएको जनाएको छ । उनलाई गृह मन्त्रालयले मंगलबार मात्र विमानस्थल अध्यागमनबाट मन्त्रालय तानेको थियो ।

सहसचिव भट्टराई विमानस्थल अध्यागमन प्रमुख हुँदा भिजिट भिसामा जानेहरूबाट अनधिकृत रूपमा करोडौं रुपैयाँ उठाएको सूचना आएको थियो । अझै थप अनुसन्धान बाँकी रहेकाले पूर्ण सूचना नआउँदासम्म सबै कुरा सार्वजनिक गर्ने अवस्था नरहेको उनले बताए ।

अनुसन्धानका क्रममा विमानस्थलमा रहेको अध्यागमन कार्यालयकै अधिकारीहरूको संलग्नतामा फर्जी कागजातका आधारमा नेपाली नागरिकलाई भिजिट भिसा मिलाएर विदेश पठाइने गरेको खुलेको हो ।

Image Source: © https://mulpatra.com

अनुसन्धानका क्रममा अख्तियारले अध्यागमनका अन्य ८ जना कर्मचारीलाई पनि हिरासतमा लिएको बताएको छ । उनीहरूलाई तस्करीको साँठगाँठको आशंकामा अनुसन्धान थालिएको आयोग स्रोतले जनाएको छ ।

‘छानबिनका क्रममा भट्टराईको मोबाइल फोन जफत गरिएको र कार्यालयबाट केही महत्त्वपूर्ण कागजात पनि बरामद गरिएको छ’, अख्तियारका एक अधिकारीले भने । मोबाइलमार्फत उनको मानव तस्कर गिरोहसँग संलग्नताबारे थप प्रमाणहरू खुल्ने अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानमा साउदी, यूएई र कुवेत जाने महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागन जाँच पार गराउने गरिएको थियो । विमानस्थल अध्यागमनमा २४ घन्टा ड्युटी हुने भएकाले ३ समूहमा कर्मचारी खटाउने गरिन्छ । त्यसमा हरेक समूहका प्रमुखसँग समेत मिलेमतो हुने आशंका गरिएको छ ।

यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत फर्जी कागजातका आधारमा लेनदेनमा भिजिट भिसामा विदेश पठाएको आरोपमा कार्यालयका अधिकृतहरूलाई पक्राउ गरेको थियो । त्यसबेला नरवीर खड्कालाई प्रहरीले विमानस्थलबाहिर होटल बाल्टिकबाट नगदसहित पक्राउ गरेको थियो । त्यस क्रममा ६६ जना युवाको सूचीसमेत फेला परेको थियो ।

नागरिकलाई गैरकानुनी रूपमा विदेश पठाएबापत प्राप्त रकम अध्यागमनका अन्य तहका कर्मचारीसम्म पनि पुग्ने गरेको छ ।

भट्टराईको विवादित छबि

आयोगले पक्राउ गरेका भट्टराई विवादित छबिका अधिकारी हुन् । उनी पहिले काठमाडौंमा स्थानीय विकास अधिकारी हुँदा २०७२ सालमा ‘त्रिपाल काण्ड’मा मुछिएका थिए । पछि सफाइ पाउँदा उनले शक्ति केन्द्रसँग निकटताका आधारमा आकर्षक पोस्टिङ पाउँदै आएका थिए ।

उनी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पनि प्रमुख भएका थिए । गृहमन्त्री रमेश लेखकले भट्टराईलाई मंगलबार मन्त्रालय तानेका थिए । उनले रमाना भने लिइसकेका थिएनन् । तर, विमानस्थल अध्यागमनका कर्मचारीहरुले भने उनी अनुसन्धानमा तानिएपछि आफैंंले सरुवा मागेको बताउँदै आएका थिए ।

२०८० देखि भिजिट भिसामा कडाइ

भिजिट भिसामा विदेश जाने नेपालीले चरम ठगी र सास्ती बेहोर्नुपरेको आमगुनासो बढेपछि २०८० माघमा गृह मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि नयाँ कार्यविधि जारी गरेको थियो ।

६ महिनाको वैध अवधि भएको राहदानी, गन्तव्य देशको प्रवेषाज्ञा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने, २ तर्फी हवाई टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका ३ पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट र क्रेडिट कार्ड), संयुक्त अरब इमिरेट्स बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वः घोषणा गर्नुपर्नेलगायतका विषयमा अध्यागमनले कडाइका साथ अध्ययन गर्ने व्यवस्था मिलाएको थियो ।

मन्त्रालयले नागरिकका लागि १३ बुँदे यात्रा परामर्श सूचना जारी गरेसँगै २५ फागुन २०७८ मा जारी कार्यविधि निष्क्रिय भएको थियो । उक्त जानकारी (ट्राभल एड्भाइजरी)का रूपमा श्रम तथा रोजगार मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाइए पनि भिजिट भिसामा विदेश गएर नफर्कनेहरूमा कमी आएको छैन । उनीहरूले अध्यागमन विभागका उच्च तहका कर्मचारीलाई पैसा खुवाएर सेटिङमा भिजिट भिसा मिलाएर अमेरिका र युरोपका मुलुकहरू जाने गरेका पाइएको छ ।