मध्यपूर्वमा फेरि अशान्ति, अमेरिकी आक्रमणको जवाफमा इरानद्वारा आक्रमण
एजेन्सी । युद्धविरामको प्रयासबीच मध्यपूर्वमा फेरि तनाव चुलिएको छ। दक्षिणी इरानमा अमेरिकी सेनाले गरेको हवाई आक्रमणपछि इरानले त्यसको जवाफस्वरूप अमेरिकी सैन्य लक्ष्यहरूमा प्रतिआक्रमण गरेको जनाएको छ। इरानको परराष्ट्र मन्त्रालयले अमेरिकी कारबाहीलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रविपरीतको ‘बर्बर आक्रमण’ भन्दै आफ्ना तटीय सुरक्षा केन्द्रमाथिको हमलाको प्रतिरक्षात्मक जवाफ दिएको दाबी गरेको छ।

अमेरिकी सेनाले भने हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि भएको इरानी ड्रोन आक्रमणको प्रत्युत्तरस्वरूप क्षेप्यास्त्र, ड्रोन भण्डारण केन्द्र तथा तटीय रडार प्रणालीलाई निशाना बनाइएको जनाएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स ९आईआरजीसी० ले क्षेत्रस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी नौसैनिक आक्रमण गरिएको पुष्टि गर्दै अमेरिका पुनः आक्रमणमा उत्रिए अझ व्यापक जवाफ दिइने चेतावनी दिएको छ। यता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै हिंसाको जवाफ हिंसाबाटै दिइने बताएका छन्।
![]() |
![]() |
![]() |
|---|
यसैबीच अमेरिकी पाँचौँ नौसैनिक फ्लीट रहेको बहराइनले आफ्नो भूमिमा इरानी ड्रोन आक्रमण भएको दाबी गर्दै त्यसलाई सार्वभौमसत्तामाथिको गम्भीर चुनौतीको संज्ञा दिएको छ।
नयाँ सैन्य तनावसँगै स्ट्रेट अफ होर्मुजको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढेको छ। इरानले जलमार्गको व्यवस्थापनमा आफ्नो अधिकार रहेको दाबी गर्दै बाह्य हस्तक्षेप स्वीकार्य नहुने अडान दोहोर्याएको छ भने अमेरिकाले खाडी क्षेत्रमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सैन्य उपस्थिति कायम राख्ने जनाएको छ। युद्धविरामका प्रयास जारी रहे पनि दुवै पक्षबीचको आरोप–प्रत्यारोप र सैन्य गतिविधि बढ्दै जाँदा मध्यपूर्वमा दीर्घकालीन शान्तिको सम्भावना थप अनिश्चित बनेको छ।



