स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको आफैँ कुदाएको सवारी दुर्घटनामा मृत्यु
काठमाडौं । स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना मगरको शनिबार आफैँले चलाएको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटनामा परी मृत्यु भएको छ। स्वर्गद्वारी–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको सवारी सडकबाट करिब ४०० मिटर तल खसेर रूखमा अड्किँदा दुर्घटना भएको हो।

दुर्घटनाका बेला राना गाडीमा एक्लै सवार रहेको र गाडीसँगै च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी नरहरि अधिकारीका अनुसार उपप्रमुख राना नगरपालिकाको सवारी साधन लिएर अनुगमनका लागि निस्किएका बेला दुर्घटनामा परेका हुन्।
घटनापछि प्रहरी टोली र स्थानीय उद्धारकर्मी घटनास्थल पुगेका थिए भने अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। राना २०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट स्वर्गद्वारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए।
![]() |
![]() |
![]() |
|---|



