सरकार उल्टो गतिमा रहेको कुलमान घिसिङको आरोप
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको नीति जनहितभन्दा विपरीत दिशामा अघि बढिरहेको आरोप लगाएका छन्। मन्थलीमा पत्रकार तथा नागरिक अगुवासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले पेट्रोलियम पदार्थको आयात घटाउन र स्वदेशी विद्युत् खपत बढाउन विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले उल्टै त्यसमाथि करको भार बढाएर गलत सन्देश दिएको बताए।

ऊर्जा आत्मनिर्भरताको लक्ष्य हासिल गर्न सरकारका नीति सहयोगी हुनुपर्नेमा त्यसको विपरीत काम भइरहेको उनको भनाइ थियो। घिसिङले शिक्षा र स्वास्थ्य क्षेत्रमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयलाई पनि जनविरोधी कदमको संज्ञा दिए।
उनले यस्तो नीति केही राजनीतिक दलले निर्वाचनका बेला सार्वजनिक गरेका प्रतिबद्धतासमेत विपरीत रहेको दाबी गर्दै करको दरभन्दा पनि त्यसको नीतिगत प्रभाव महत्वपूर्ण हुने बताए। श्रमिकहरूको न्यूनतम ज्याला वृद्धि नगरी सरकारले श्रमिकमैत्री नीति अवलम्बन गरेको दाबी गर्न नसकिने उनको टिप्पणी थियो।
![]() |
![]() |
![]() |
|---|
अध्यक्ष घिसिङले बजेट निर्माण प्रक्रियामा समेत प्रश्न उठाउँदै विगतमा बजेट हेरफेरको विषयमा राजीनामा माग्नेहरू अहिले आफैं विवादमा परेको आरोप लगाए। सरकारले नागरिकमा भरोसा र आत्मविश्वास जगाउन नसकेको उल्लेख गर्दै उनले देशभित्रै अवसर सिर्जना गर्ने वातावरण नबनेसम्म युवालाई स्वदेशमै रोक्न कठिन हुने धारणा व्यक्त गरे। सरकार जनमुखी नीति निर्माणमा केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको उनको निष्कर्ष थियो।



