Close

Recent Posts

भर्जिनिया गोलीकाण्ड: नेपाली परिवारका चार सदस्यको मृत्यु, प्रहरी अनुसन्धान जारी

भर्जिनिया गोलीकाण्ड: नेपाली परिवारका चार सदस्यको मृत्यु, प्रहरी अनुसन्धान जारी
  • २५ जेष्ठ २०८२, शनिबार १२:०२

अमेरिकाको भर्जिनिया राज्यको मनसास पार्क सहरमा एक नेपाली परिवारका चार सदस्य मृत भेटिएका छन्। बिहीबार राति १०:४० बजे प्रहरीलाई खबर गरिएपछि घटनास्थलमा पुगेको प्रहरीले दुई वयस्क र दुई बालबालिकाको शव फेला पारेको हो। प्रारम्भिक अनुसन्धानमा यो घटना हत्या–आत्महत्याको आशंका गरिएको छ।

mulpatra

मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, ८ वर्षीया बालिका र २ वर्षीय बालक रहेका छन्। सबैको शवमा गोली लागेको पाइएको छ, र घटनास्थलबाट एकथान पेस्तोल बरामद गरिएको छ। प्रहरीका अनुसार, सन्तोष र अञ्जु दम्पती थिए भन्ने विश्वास गरिए पनि, चारै जनाको आपसी सम्बन्धबारे थप अनुसन्धान भइरहेको छ।

प्रहरी प्रमुख मारियो लुगोले घटनास्थलमा भेटिएको प्रमाणका आधारमा यो घटना हत्या–आत्महत्याको हुन सक्ने बताएका छन्। तर, कसले गोली चलाएको हो भन्नेबारे अझै पुष्टि हुन बाँकी छ। शवहरूलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

मृतकहरू बसोबास गरेको घरको माथिल्लो तलामा अर्को नेपाली परिवार पनि बस्दै आएको बताइएको छ। घटनापछि प्रहरीले छिमेकीहरूसँग सोधपुछ गरिरहेको छ। स्थानीय नेपाली समुदायमा यो घटनाले गहिरो शोक र चिन्ता उत्पन्न गरेको छ।

मनसास पार्क सहरको विद्यालयमा अध्ययनरत ८ वर्षीया बालिकाको मृत्युपछि विद्यालय प्रशासनले परिवारहरूलाई समवेदना प्रकट गर्दै मानसिक स्वास्थ्य सहयोग प्रदान गर्ने जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ र सार्वजनिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। नेपाली समुदायले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। –एजेन्सी