इजरायल–इरानबीचको तनावः आक्रमण र जवाफी कारबाहीपछि उत्पन्न संकटमय परिस्थिति

इजरायल–इरानबीचको तनावः आक्रमण र जवाफी कारबाहीपछि उत्पन्न संकटमय परिस्थिति
  • ३२ जेष्ठ २०८२, शनिबार ०८:१६

इजरायलले इरानका आणविक स्थापनाहरूमा लक्षित आक्रमण गरेपछि मध्यपूर्वमा फेरि एकपटक तनाव चुलिएको छ। जुन १२, २०२५ मा इजरायलले Operation Rising Lion अन्तर्गत इरानको नतान्ज, इस्फहान र अन्य आणविक कार्यक्रम संलग्न क्षेत्रहरूमा हवाई आक्रमण गर्‍यो। उक्त कारबाहीमा इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (IRGC) का केही वरिष्ठ कमाण्डरहरू पनि निशानामा परेका थिए। इजरायलको यो आक्रमणलाई धेरैले रणनीतिक रूपमा योजनाबद्ध मानेका छन्, गाँजामा भएको निरन्तरको हमला पछि इरान आक्रमण सम्भावित थियो भन्ने आंकलन धेरैले गरेका थिएन । यसरी भएको इजरायलको आक्रमणको प्रत्यक्ष प्रतिक्रिया इरानबाट अपेक्षित थियो।

यसैको जवाफमा, इरानले जुन १३ राति Operation True Promise III अन्तर्गत इजरायलमाथि व्यापक मिसाइल र ड्रोन आक्रमण गर्‍यो। १५० भन्दा बढी बैलिस्टिक मिसाइल र सयौं ड्रोनहरू इजरायली आकासमा पठाइएका थिए। यद्यपि इजरायलको Iron Dome लगायतका हवाई प्रतिरक्षा प्रणालीहरूले अधिकांश आक्रमण रोक्न सफल भए पनि केही मिसाइल र ड्रोनहरू भने नागरिक क्षेत्रमा पुगेर विस्फोट भए। यस आक्रमणमा एक महिलाको मृत्यु भयो भने करिब ७० जना घाइते भएका छन्। विभिन्न भवन, विद्यालय र सार्वजनिक संरचनाहरूमा ठूलो भौतिक क्षति पुगेको पुष्टि भएको छ।

इजरायलमा जनमानसमा अहिले मिलेको प्रतिक्रिया मिश्रित छ। एकातिर आफ्नो सुरक्षात्मक क्षमतामाथि गर्व छ भने अर्कोतर्फ लगातार हुने आक्रमणका कारण जनतामा भय, चिन्ता र तनाव बढेको देखिन्छ। इजरायली सरकारले भने स्थिति नियन्त्रणमा रहेको र आवश्यक परे थप जवाफी कारबाही गरिने स्पष्ट पारेको छ। यसैबीच अमेरिका, बेलायत लगायतका पश्चिमा शक्तिहरूले इजरायलसँग सहकार्य गर्दै हवाई सुरक्षा मजबुत पारिरहेका छन्।

यस द्वन्द्वले इजरायलको अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पार्न थालेको छ। अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरू Moody’s र S&P ले इजरायलको क्रेडिट रेटिङ घटाएका छन् भने तेलको मूल्य विश्वबजारमा तीव्र गतिमा बढेको छ। तेल भण्डारण केन्द्रहरूमा आक्रमणको जोखिम बढेपछि उत्पादन तथा आपूर्तिमा असर देखिन थालेको छ।

किन गर्यो इजरायलले आक्रमण

इजरायलको प्रमुख चिन्ता इरानको आणविक हतियार विकास हो। इरानले विगत केही महिनादेखि युरेनियम प्रशोधनको गति तीव्र बनाएको, अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) का निरीक्षणमा असहयोग गरेको, र weapons-grade स्तरको युरेनियम भण्डारण गरिरहेको सूचना बाहिरिएको थियो।

इरानले आणविक हतियार विकास गरे इजरायलको अस्तित्वमै खतरा हुने इजरायलको बुझाई रहेको छ ।
अर्को तर्फ इरानले हमास, हिजबुल्लाह, होउथी जस्ता सशस्त्र समूहहरूलाई आर्थिक, सैनिक सहयोग दिँदै आएको आरोप इजरायलले सधै लगाउने गरेको छ जसको बलमा इजरायलमाथि आक्रमण हुने गरेको छ ।

अर्कोतर्फ, अन्तर्राष्ट्रिय समुदायले चासो र चिन्ता प्रकट गरेको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ भने कूटनीतिक संवादका लागि पहल थालिएको छ। रुस, टर्की र चीनले इजरायली आक्रमणको विरोध गरेका छन् भने अमेरिका र युरोपेली संघले संयम अपनाउन आह्वान गरेका छन्।

यस्तो परिदृश्यमा, इजरायल–इरान संघर्षले केवल दुई राष्ट्रबीचको द्वन्द्व होइन, समग्र मध्यपूर्वको स्थायित्वलाई जोखिममा पारेको छ। यदि कूटनीतिक समाधानतर्फ ध्यान नदिइयो भने यो संघर्ष अझ व्यापक युद्धतर्फ उन्मुख हुन सक्ने सम्भावना प्रबल बन्दै गएको छ। आणविक कार्यक्रम, क्षेत्रीय प्रभुत्व र रणनीतिक शक्ति सन्तुलनको खेलमा अहिले मध्यपूर्व फेरि एकपटक बारुदको डिलमा उभिएको देखिन्छ।