खाडीका देशमा अत्यधिक गर्मी बढेपछि दिउँसो काम गर्न रोक, अटेर गर्ने कम्पनीलाई ५० हजार जरिवाना

काठमाडौं– खाडीका देशमा अत्यधिक गर्मीका कारण दिउँसो ३ घण्टा काममा प्रतिबन्ध लगाइएको छ । यूएईले आइतबारदेखि घाममा र खुला ठाउँमा दिउँसो साढे १२ बजेदेखि ३ बजेसम्म काम गर्न प्रतिबन्ध लगाएको हो ।
यो नियम सेप्टेम्बर १५ सम्म अर्थात् ३ महिना लागू रहनेछ । खाडीका अन्य मुलुकमा पनि दिउँसोको समयमा खुला ठाउँमा कामदारलाई काममा लगाउन प्रतिबन्ध गरिएको छ । हाल यूएईमा ५ लाख नेपाली कामदार कार्यरत छन् ।
युएईको अबुधावीमा ३८ डिग्री सेल्सियस, दुबईमा ३९ डिग्री सेल्सियस, कतारको दोहामा ३७ डिग्री सेल्सियस, साउदीअरवको जेद्दामा ३७ डिग्री सेल्सियस, रियादमा ४६ डिग्री सेल्सियस र इराकको बग्दादमा ४७ डिग्री सेल्सियस पुगेको थियो । यो तापक्रम दैनिकरूपमा बढ्ने बताइएको छ ।
खाडी सहयोग परिषद् (जिसिसी) भनिने बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई)मा नेपालीसहित लगभग ३ करोड विदेशी नागरिकहरू कार्यरत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको भनाइ छ । उक्त संख्या जिसिसी मुलुकहरूको कुल जनसंख्याको ५२ प्रतिशतभन्दा बढी हो ।
शनिबार त्यस क्षेत्रमा सबैभन्दा कम तापक्रम ठानिएको ओमानको मस्कटमा ३६ डिग्री सेल्सियस र सबैभन्दा बढी कुवेतको कुवेत सिटीमा ५० डिग्री सेल्सियस रहेको थियो । प्रतिबन्ध पालना नगरेको अवस्थामा एक जना कामदार प्रभावित भएको भए ५ हजार दिराम र कामदार समूहमा भए ५० हजार दिराम जरिवाना गर्ने यूएईले बताएको छ
दिउँसोको समय काममा लगाएको प्रतिबन्धको कार्यान्वयनले विश्वव्यापी चासोको व्यावसायिक स्वास्थ्य र सुरक्षा मापदण्डहरू पालना भइ गर्मी महिनाहरूमा गर्मीसँग सम्बन्धित चोटपटक र स्वास्थ्य जोखिमबाट कामदारहरूलाई जोगाउनु रहेको बताइएको छ ।
अत्यधिक गर्मीले शरीरको तापक्रम उच्च बनाइ मिर्गौला जस्ता अंग विफल हुने, अत्यधिक पसिना आउने, कमजोरीले चक्कर लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने कतिपय अवस्थामा मांसपेशी ऐंठन समेत हुने चिकित्सकहरू बताउँछन् ।
कतार, साउदी अरेबिया र यूएई जस्ता देशहरूमा काम गर्ने विदेशी कामदारको ठूलो हिस्सा प्रायः कम ज्याला वा अनिश्चित मानिने कन्स्ट्रक्सन, घरेलुलगायतका चुनौतीपूर्ण काम गरिरहेका छन् ।