सरकार संविधान मास्न उद्धत रहेकाले एकपटक जुर्मुराउने बेला आएको छः प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढिरहेको आरोप लगाएका छन्। नेकपा उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार सुशासन र विकासको नाममा महिला, दलित, आदिवासी, जनजातिलगायत समुदायले संविधानमार्फत प्राप्त गरेका अधिकार संकुचित गर्ने प्रयासमा लागेको दाबी गरे।

सरकारको गतिविधिविरुद्ध पार्टीपंक्ति र जनतालाई सचेत तथा संगठित हुन आग्रह गर्दै उनले अब एकपटक सबै जुर्मुराएर उभिनुपर्ने अवस्था आएको बताएका छन्। प्रचण्डले सरकारले सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियन खारेज गर्ने, ट्रेड युनियनका अधिकार कमजोर बनाउने तथा राष्ट्रिय सीमाजस्ता संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिने काम गरेको आरोप लगाए। यस्ता गतिविधिले संविधानको मर्म र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरेको उनको भनाइ थियो।
सरकारले गलत बाटो समातेकाले आफूले यसअघि संसदमा पनि आवाज उठाएको स्मरण गराउँदै अब सरकारका कामकारबाहीबारे उठाउने धेरै विषय तयार भइसकेको र आगामी दिनमा संसदभित्र पनि त्यसको सशक्त रूपमा भण्डाफोर गर्ने चेतावनी दिए।
![]() |
![]() |
![]() |
|---|
कार्यकर्तालाई आन्दोलनका लागि मानसिक रूपमा तयार रहन निर्देशन दिँदै प्रचण्डले आफ्नै पार्टीका विगतका कमजोरी पनि खुलेर स्वीकार गरे। वर्ग संघर्ष, वैचारिक स्पष्टता र दीर्घकालीन रणनीतिलाई बेवास्ता गर्दै तत्कालीन कार्यनीतिमै अल्झिँदा पार्टी कमजोर बनेको उनको स्वीकारोक्ति थियो। पार्टीको वर्तमान अवस्थाको मुख्य जिम्मेवारी आफूले नै लिनुपर्ने भन्दै उनले तीनपटक प्रधानमन्त्री भइसकेको व्यक्ति भएकाले अरूलाई मात्र दोष दिएर आफू उम्किन नसक्ने बताए।
विगतका अनुभवबाट शिक्षा लिएर पार्टीलाई पुनः वैचारिक रूपमा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रचण्डले अब आन्दोलन, संगठन सुदृढीकरण र जनताका मुद्दामा केन्द्रित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। वर्तमान राजनीतिक परिस्थितिले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न थप सक्रिय भूमिका खेल्नुपर्ने अवस्था सिर्जना गरेको दाबी गर्दै उनले पार्टीपंक्तिलाई संगठित, अनुशासित र संघर्षका लागि तयार रहन आह्वान गरे।



