भारतमा बढ्दो ‘भजन क्लबिङ’ को नयाँ ट्रेन्ड, मदिराविहीन पार्टीमा रमाउँछन् युवा
काठमाडौं– क्लबिङ भनेपछि धेरैको मनमा रातभर चल्ने संगीत, मदिरा, नृत्य र पार्टीको चित्र आउँछ । तर भारतका केही युवा भने अहिले बिल्कुल फरक प्रकारको ‘क्लबिङ’ तर्फ आकर्षित भइरहेका छन,जहाँ न मदिरा हुन्छ, न लागुऔषध, न त डिस्को बत्ती । त्यहाँ हुन्छ केवल भजन, सामूहिक गायन, ध्यान र आध्यात्मिक अनुभूति ।

सीएनएनका अनुसार भारतका शहरी क्षेत्रमा ‘भजन क्लबिङ’ नामक नयाँ सामाजिक–आध्यात्मिक अभियान लोकप्रिय बन्दै गएको छ। विशेषगरी जेन–जी पुस्ताका युवाहरू सप्ताहन्तमा पार्टी क्लबभन्दा भजन कार्यक्रममा सहभागी हुन थालेका छन्।
यी कार्यक्रममा परम्परागत धार्मिक अनुष्ठानभन्दा फरक शैली अपनाइन्छ। आधुनिक ध्वनि प्रणाली, आकर्षक प्रकाश व्यवस्था र युवामैत्री वातावरणमा सामूहिक रूपमा भजन गाइन्छ । सहभागीहरू ध्यान, संगीत र सामूहिक ऊर्जाको अनुभव लिन आउँछन् ।

आयोजकहरूका अनुसार यसलाई धार्मिक प्रचारभन्दा पनि मानसिक शान्ति, सकारात्मक ऊर्जा र समुदायसँग जोडिने अवसर का रूपमा प्रस्तुत गरिएको छ।
मदिरा र लागुऔषधविनाको ‘क्लब’
भजन क्लबिङको मुख्य विशेषता भनेकै यहाँ मदिरा, धूम्रपान वा लागुऔषधको कुनै स्थान नहुनु हो। युवाहरू संगीत र आध्यात्मिक अनुभूतिमार्फत रमाइलो गर्ने नयाँ विकल्प खोजिरहेका छन्।
Image Source: © https://mulpatra.com
धेरै सहभागीहरूले परम्परागत नाइटलाइफले दिने क्षणिक मनोरञ्जनभन्दा यस्तो कार्यक्रममा सहभागी हुँदा मानसिक रूपमा हल्का र ऊर्जावान महसुस हुने बताएका छन्।
विश्लेषकहरूका अनुसार पछिल्ला वर्षहरूमा बढ्दो मानसिक तनाव, सामाजिक सञ्जालको दबाब र तीव्र प्रतिस्पर्धाबीच धेरै युवा आत्मिक सन्तुलन खोजिरहेका छन्।
यही कारण योग, ध्यान, माइन्डफुलनेससँगै भजन क्लबिङजस्ता गतिविधिप्रति उनीहरूको आकर्षण बढेको मानिन्छ।
कार्यक्रममा सहभागी सबै व्यक्ति अनिवार्य रूपमा धार्मिक आस्थासँग जोडिएका हुँदैनन् । धेरैका लागि यो संगीत, समुदाय र सकारात्मक वातावरणको अनुभव गर्ने माध्यम बनेको छ।
आयोजकहरू पनि आफूहरूले कुनै विशेष धार्मिक विचारधारा प्रचार नगरी संगीतमार्फत मानिसहरूलाई जोड्ने प्रयास गरिरहेको बताउँछन्।
सामाजिक सञ्जालले दियो गति
इन्स्टाग्राम, युट्युब र अन्य सामाजिक सञ्जालमा भजन क्लबिङका भिडियो भाइरल हुन थालेपछि यसको लोकप्रियता अझ बढेको छ। मुम्बई, बेंगलुरु, दिल्ली, पुणेलगायत सहरमा यस्ता कार्यक्रम नियमित हुन थालेका छन्।
र भारतमा विकसित भइरहेको यो प्रवृत्तिले जेन–जी पुस्ताले मनोरञ्जन र सामाजिक सम्बन्धलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको संकेत गर्छ। उनीहरूका लागि रमाइलो अब केवल पार्टीमा सीमित छैन, बरु संगीत, आध्यात्मिकता र सामूहिक अनुभूतिसँग पनि जोडिन थालेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
