बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय
काठमाडौं– बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको मानहानी सम्बन्धी मुद्दामा ६ महिनाको जेल सजाय सुनाइएको छ । हसिनाले आफूविरुद्ध २२७ वटा मुद्दा दायर भएको र त्यसले उनलाई ‘२२७ जनालाई मार्ने इजाजत दिएको’ भन्ने विवादास्पद टिप्पणी गरेको सुनिएको थियो । यो अडियो सामाजिक सञ्जाल र मुलधार मिडियामा भाइरल भएको थियो ।

हसिनामाथि हाल १५२ वटा मुद्दा दायर भएका छन्, जसमध्ये १३५ वटा हत्या, ७ वटा मानवताविरुद्धको अपराध र नरसंहार, ३ वटा अपहरण, ६ वटा हत्याको प्रयास र १ वटा विपक्षी दल बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) माथिको आक्रमणसँग सम्बन्धित छन् । यी मुद्दाहरूमा उनको सरकारका अन्य वरिष्ठ अधिकारीहरू पनि संलग्न छन् ।
न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले बुधबार यो फैसला गरेको हो । सोही मुद्दामा शाकिल अकन्द बुलबुललाई पनि दुई महिनाको जेल सजाय सुनाइएको छ । उनी बंगलादेशको अवामी लिगको विद्यार्थी संगठन, छत्र लिगका नेता हुन् ।
![]() |
![]() |
![]() |
|---|
यो मुद्दा शेख हसिनाले गत वर्ष अक्टोबरमा गाइबान्धाको गोबिन्दगञ्जका स्थानीय नेता शाकिल अकन्द बुलबुलसँग गरेको कथित फोन कुराकानीको लीक भएको अडियोमा आधारित छ ।
हसिना हाल भारतको नयाँ दिल्लीमा सुरक्षित स्थानमा बसिरहेकी छन् । बंगलादेश सरकारले उनलाई फिर्ता गर्न भारतसँग औपचारिक अनुरोध गरेको छ, तर उनले यी आरोपहरूलाई राजनीतिक प्रेरित भएको भन्दै खारेज गरेकी छन् ।
१९९६ देखि २००१ र सन् २००९ देखि २०२४ सम्म बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलन र हिंसात्मक प्रदर्शनपछि देश छोडेर भारतमा निर्वासित भएकी थिइन् ।
Image Source: © https://mulpatra.com
यो आन्दोलन सरकारी जागिरमा कोटा सुधारको मागबाट सुरु भएको थियो, तर पछि उनको सरकारविरुद्ध व्यापक आन्दोलनमा परिणत भयो । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयको प्रतिवेदन अनुसार सन् २०२४ को जुलाई १५ देखि अगस्त १५ सम्मको अवधिमा करिब १,४०० मानिस मारिएका थिए ।



