काठमाडौँ–निजगढ द्रुतमार्गको प्रस्थानबिन्दु नै परिवर्तन गर्न सिफारिस

काठमाडौँ– देशको राजधानी र तराइको विशाल समथर भूखण्डलाई जोड्ने सबैभन्दा छोटो बाटोको प्रस्थान विन्दु नै बदल्न एउटा आयोगले सिफरिस गरेको छ ।
रामबहादुर थापामगरको अध्यक्षतामा गठित आदिवासी जनजाति आयोगले काठमाण्डू–तराई द्रुतमार्गको प्रस्थान विन्दु बदल्न सिफरिस गरेको छ । आयोगले यही असार ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको पहिलो बुँदामै द्रुतमार्गको प्रस्थानबिन्दु ‘हालको स्थानबाट अन्यत्रै सार्न उपयुक्त हुने’ भनेर सिफारिस गरिएको छ ।
नेपाली सेनाले जिम्मा लिएर निर्माण गरिरहेको ७१ किलोमिटर लामो द्रुतमार्गका अधिकांश खण्डमा अहिले धमाधम निर्माण कार्य भइरहेको छ । तर काठमाडौँको खोकना क्षेत्रमा करिब ६ किलोमिटर खण्डमा सडक बनाउनका लागि भने सरकारले जग्गा प्राप्ती गर्नै सकेको छैन ।
त्यहाँका स्थानीय आदिवासी नेवार समुदायको सांस्कृतिक एवम् धार्मिक सम्पदा र स्थानीय ज्यापू समुदायको पहिचान नै नासिने भन्दै संयुक्त राष्ट्रसङ्घको मानवअधिकारसम्बन्धी उच्चायुक्तको कार्यालयमा उजुरी परेपछि जग्गा प्राप्ती र सडक निर्माणको काम अघि बढ्न सकेको छैन ।
चोभार सुख्खा बन्दरगाह नजिकै खोकनाको फुडोलमा प्रस्थानबिन्दु बनाउने गरी उक्त द्रुतमार्गको निर्माण थालिएको थियो । तर स्थानीयले निरन्तर विरोध गरेपछि प्रस्थान विन्दुको निर्माण अघि बढ्न सकेको छैन ।
उक्त आयोगले असार पहिलो साता प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।
लामो विवाद पछि उक्त बाटो बनाउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले विसं २०६९ सालमै द्रुतमार्गको ट्र्याक खोलिसकेको थियो । तर यसको विस्तृत परियोजना प्रतिवेदन तयार भएर निर्माण प्रक्रिया सुरु हुन लामो समय लाग्यो।
सरकारले २०८३ चैतसम्म यो आयोजनाको निर्माण सक्ने लक्ष्य तय गरेको छ। यस अघि पनि पटक पटक यस्तो लक्ष्य तोक्दै, पछाडी धकेल्दै गरेर आइएको छ ।
काठमाण्डौ–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाले उक्त ७१ किलोमिटरमध्ये ६५ किलोमिटरको निर्माण कार्य भइरहेको जनाएको छ । त्यसमा पनि ८९ वटा पुलहरुले १२ किलोमिटरभन्दा धेरै लम्बाइ ओगट्ने छने भने ६ वटा सुरुङले अर्को १० किलोमिटर बाटो तयार हुने छ । बाँकी ४३ किलामिटर जति सडक जमीनको सतहमा बन्ने छ ।
तर प्रस्थन विन्दु नै अन्योलमा परेपछि यो आयोजना थपिएको म्यादभित्र समेत सम्पन्न हुनेमा आशंका उत्पन्न हुन थालेको आयोजना सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
आदिवासी जनजाति.आयोगले पनि दोस्रो सिफारिसमा प्रस्थानबिन्दु गोदावरी नगरपालिका वडा नम्बर–८ मा पर्ने ‘डुकुछाप’मा स्थानान्तरण गर्न उपयुक्त हुने भनेर सुझाव दिएको छ।
यसका साथै, उक्त आयोगले डुकुछापबाट चोभारको सुख्खा बन्दरगाह र अरु मुख्य क्षेत्रलाई जोड्न ‘एक्सेस रोड’ र सुरुङ मार्गहरु निर्माण गर्न सकिने भनेर पनि सरकारलाई सुझाव दिएको छ ।
यो स्थान खोकनाको सिकाली मन्दीरबाट करीब ६ किलोमिटर दक्षिणमा पर्छ, जुन द्रुतमार्गको बाटोमै अवस्थित छ । यो भनेको दक्षिणकाली मन्दीरको ठ्याक्कै पारिपट्टी र चापागाउँदेखि पश्चिममा पर्छ । त्यस क्षेत्रमा द्रुतमार्ग परियोजनाले सडक बनाइसकेको छ । त्यसो त, सिकाली मन्दिरदेखि उत्तरमा पनि चोभारको सुख्खा बन्दरगाहलाई जोड्ने गरी ट्रयाक खोलिइसकेको छ ।