रसुवा बाढीमा फसेका सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै

काठमाडौं– तिब्बतबाट आएको बाढीले प्रभावित बनेकाको उद्धारका लागि गएका सशस्त्र प्रहरी बलका एक जना कर्मचारी आफैं घाइते भएपछि उद्धारको प्रयास भइरहेको छ ।
गोसाईंकुण्ड गाउँपालिका–३, लिङलिङ भिरमा फसेका प्रहरी सहायक हवल्दार विशाल थापाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार प्रयास भइरहेको हो । सशस्त्र प्रहरीको २ नम्बर गुल्मबाट गएको टोलीमध्ये उनी खोंचमा खसेपछि घाइते भएका थिए । त्यसपछि उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर मगाइएको थियो ।
सैनिक स्रोतका अनुसार, अवतरण ठाउँ नभएपछि हेलिकोप्टरमा राखिएको डोरीले तान्ने प्रयास भइरहेको छ । त्रिशुली नदीमा रुखमा फसेका दुईजनाको समेत मंगलबार त्यसैगरी उद्धार गरिएको थियो । उद्धार गरेर ल्याएर उनको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचार हुनेछ ।