कोरिया इ–सेभेन भिसामा कामदार पठाउने बाटो खुल्यो, म्यानपावरले पनि पठाउन सक्ने

काठमाडौं– ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ–सेभेन भिसामा पनि कामदार पठाउन सक्ने श्रम मन्त्रालयले कार्यविधि बनाएको छ ।
कोरियाले इ सेभेन भिषा अन्तरगत निजी क्षेत्र अर्थात (बिटुबी) मार्फत कोरियाले दक्ष कामदार लैजाने छ । नेपालले इ सेभेन भिसा खुला गरेमा निजी क्षेत्रका म्यानपावर मेनपावर कम्पनीहरुले नेपाली दक्ष कामदारलाई कोरिया पठाउने छन्।
कार्यविधिमा इ– सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने व्यवस्था गरिएको छ ।
इ सेभेन भिषामा पारिश्रमिक तथा सेवा सुविधा निकै राम्रो भएका कारण यो भिसामा जतिसक्दो ठूलो संख्यामा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
इ सेभन भिसामा भनेको कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सिप हासिल गरेका दक्ष कामदारहरुलाई पात्र पठाउन अनुमति दिनेगरी कार्यविधि बनेको श्रम मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले जानकारी दिए । उनका अनुसार कोरियाले विशेष गरी इलेक्ट्रोनिक्स, मेकानिकल इन्जिनियरिङ, हार्डवेयर र सफ्टवेयर विकास, केयर गिभररहस्पिटालिटी लगायत विभिन्न क्षेत्रमा विशेषज्ञता भएका व्यक्तिहरूलाई इ सेभेन भिसा पाउने सक्छन् ।
इ सेभेन भिषामा जाने कामदारले परिवार पनिसँगै लैजान पाउने व्यवस्था रहेको छ । यस्तो भिसा अवधि सुरूमा तीन वर्ष र विशेष अवस्थामा पाँच वर्षसम्म हुनेछ भने करार अवधि पनि असीमित हुने मन्त्रालयले जनाएको छ ।
कोरियाले सन् २०२२ देखि नै प्राविधिक पेशामा काम गर्ने आप्रवासी कामदारहरुको कोटा बढाउने नीति लिएको छ । जसअनुसार पानीजहाज निर्माणका लागि वेल्डर, चित्रकारलगायत व्यवसायिक सिप हासिल गरेका कामदारको कोटा बढाएको हो । नेपाली कामदारका लागि यो अवसर भएको समेत श्रम मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले कोरियाले इ सेभेन भिषामार्फत वर्षेनि दश हजार बढी दक्ष नेपाली कामदारको माग गरेको छ । यस भिसामा जाने कामदारको न्यूनतम पारिश्रमिक करिब चार लाख नेपाली रूपैयासम्म हुनेछ ।
यस्तै यो भिसामा अन्य सेवा सुविधासहित बीमा लगायत सुविधा पनि रोजगारदाताले उपलब्ध गराउने व्यवस्था छ । कोरियाले इ सेभेन भिषामा बंगलादेश, फिलिपिन्स लगायत अन्य मुलुकबाट कामदारहरु लैजाने गरेको छ ।
कोरियाले ईपीएस प्रणालीमार्फत् कामदार लगिरहेका नेपालजस्तै अन्य १५ देशबाट ई–सेभन भिसामा पनि दक्ष कामदारहरू लैजान सुरु गरिसकेको छ ।
नेपालले भने यसअघि कामदार पठाइरहेको ईपीएसजस्तै दुवै देशका सरकारबीचको सम्झौताबाट कामदार पठाउने प्रस्ताव गरेका कारण ढिलो भएको बताइएको छ ।