अमेरिकामा कार दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं– अमेरिकामा कार दुर्घटनामा परेर लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच उनीहरूले चलाइरहेको कार रुखमा ठोकिँदै सडकबाट खसेको हो ।
दुर्घटना स्थानीय समयअनुसार जुलाई १३ शनिबार राति ९ बजेतिर भएको हो । उनीहरूसँगै होन्डा एकर्डमा सवार २ जना घाइते भएका छन् ।
जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको समाचारमा उल्लेख छ ।
रोजिनको नेपालको ठेगाना दाङ हो भने, राजनको ठेगाना खुलेको छैन । यादव र ओलीको घटनास्थलमै मृत्यु भएको र अन्य २ जना घाइते भएको बताइएको छ ।
लुइसियाना राजमार्ग ५०७ को पश्चिममा रहेको अमेरिकी राजमार्ग ८० मा भएको दुर्घटनाबारे लुइसियाना राज्य प्रहरी टोली एफले अनुसन्धान गरिरहेको छ ।