Close

Recent Posts

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

बर्डफ्लुले हजारौं कुखुरा मरिरहेको बेला, बंगुरमा पनि अफ्रिकन स्वाइन फिबर, किसान चिन्तित

बर्डफ्लुले हजारौं कुखुरा मरिरहेको बेला, बंगुरमा पनि अफ्रिकन स्वाइन फिबर, किसान चिन्तित
  • १६ असार २०८३, मंगलवार १२:२५

काठमाडौं । नेपालमा एकातिर बर्डफ्लु संक्रमणले व्यावसायिक कुखुरा पालन व्यवसाय संकटमा परेको छ भने अर्कोतिर अफ्रिकन स्वाइन फिबले बंगुरपालन किसानलाई थप चिन्तामा पारेको छ। पछिल्ला केही महिनायता दुवै रोग विभिन्न जिल्लामा फैलिँदै जाँदा पशुपन्छीपालन व्यवसायमा ठूलो आर्थिक क्षति हुन थालेको छ।

mulpatra

काभ्रेपलाञ्चोकमा मात्रै बर्डफ्लु संक्रमणका कारण हालसम्म ४० हजार ७२९ वटा हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ। बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का विभिन्न व्यावसायिक पोल्ट्री फार्ममा संक्रमण पुष्टि भएपछि कुखुरा र हाँस नष्ट गरिएको हो।

जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी तथा खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जंगली चरामार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

mulpatra mulpatra mulpatra

यसअघि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका चरा तथा केही साना वन्यजन्तुमा पनि बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको थियो। चिडियाखानाभित्रका संक्रमित पक्षी तथा जोखिमयुक्त जनावर व्यवस्थापनसँगै थप संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाइएको छ। यस घटनाले बर्डफ्लु व्यावसायिक पोल्ट्री फार्ममा मात्र सीमित नरही वन्यजन्तु तथा संरक्षण क्षेत्रमा समेत चुनौती बन्दै गएको देखाएको छ।

यता, गोरखामा अफ्रिकन स्वाइन फिबर संक्रमणका कारण तीन महिनाको अवधिमा २५० भन्दा बढी बंगुर मरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका अनुसार गोरखा नगरपालिका–६, ७, ८ तथा सहिद लखन गाउँपालिका–६ क्षेत्रमा संक्रमण देखिएको हो। संक्रमित बंगुरमा सुरुमा ज्वरो आउने, खाना नखाने, शरीरमा राता धब्बा देखिने जस्ता लक्षण देखिने र परीक्षण गर्दा अफ्रिकन स्वाइन फिबर पुष्टि भएको कार्यालयले जनाएको छ।

पशु सेवा विज्ञ केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार अफ्रिकन स्वाइन फिबर विषाणुजन्य रोग भएकाले यसको प्रभावकारी उपचार उपलब्ध छैन। त्यसैले रोग फैलिन नदिन बिरामी बंगुरलाई छुट्टै राख्ने, खोरमा जैविक सुरक्षा अपनाउने, नियमित सरसफाइ गर्ने र बाहिरबाट ल्याइने पशुमा विशेष निगरानी गर्न किसानलाई आग्रह गरिएको छ।

Image Source: © https://mulpatra.com

कुखुरा र बंगुर दुवै नेपाली किसानका प्रमुख आयस्रोत मानिन्छन्। बर्डफ्लु पुष्टि भएपछि संक्रमित फार्मका सबै कुखुरा नष्ट गर्नुपर्ने बाध्यता हुन्छ, जसले किसानको वर्षौंको लगानी एकैपटक गुम्ने अवस्था सिर्जना गर्छ। बजारमा कुखुराको मासु तथा अण्डाको मागमा पनि प्रत्यक्ष असर पर्ने भएकाले उत्पादन र आम्दानी दुवै घट्ने जोखिम बढेको छ।

त्यसैगरी अफ्रिकन स्वाइन फिबर लागेपछि संक्रमित बंगुरको मृत्यु हुने दर अत्यन्त उच्च हुने भएकाले बंगुरपालन व्यवसायमा ठूलो आर्थिक क्षति पुग्ने गरेको छ। हालसम्म यसको खोप वा प्रभावकारी उपचार उपलब्ध नभएकाले जैविक सुरक्षा नै रोग नियन्त्रणको प्रमुख उपाय मानिएको छ।

पशु स्वास्थ्य विज्ञहरूले दुवै रोगको संक्रमण नियन्त्रणका लागि फार्ममा बायोसेक्युरिटीको कडाइ, समयमै परीक्षण, संक्रमित पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा अवैध ओसारपसारमा कडा निगरानी अपरिहार्य रहेको बताएका छन्। उनीहरूका अनुसार किसान, स्थानीय तह र सरकारी निकायबीच प्रभावकारी समन्वय नभए संक्रमण थप फैलिन सक्ने जोखिम अझै कायम छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com