भारतको यूपीआई विश्वकै सबैभन्दा ठूलो डिजिटल कारोबार गर्ने बन्यो

काठमाडौँ –भारतको राष्ट्रिय भुक्तानी संस्थानले ९ वर्षअघि स्थापना गरेको प्रणाली ‘युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) अब विश्वकै सबैभन्दा ठूलो डिजिटल कारोबार हुने माध्यम बनेको छ ।
अमेरिकी भुक्तानी सेवा प्रदायक ‘भिसा’लाई पछाडी पारेको दूतावासले जनाएको छ । जस अनुसार भिसामार्फत् दैनिक भुक्तानी संख्या ६३ करोड ९० लाख रहेकोमा यूपीआईबाट ६५ करोड पल्ट कारोबार भएको भनिएको छ । भारतभित्र सबै डिजिटल भुक्तानीको ८५ प्रतिशत कारोबार यूपीआईबाटै हुन्छ ।
यूपीआई विश्वको अग्रणी रियल टाइम भुक्तानी प्रणालीको रुपमा देखा परेको खबर काठमाडौँ स्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल फेसबूकबाट दिएको छ । अब यूपीआईले विश्वब्यापी रुपमा सबै खाले डिजिटल भुक्तानीहरुको करीब ५० प्रतिशत हिस्सा ओगटेको दूतावासले जनाएको छ ।
सन् २०२३ मा २ खर्ब ६६ अर्ब पल्ट यस्तो कारोबार भएको थियो भने २०२८ सम्ममा यो बढेर ५ खर्ब ७५ अर्ब नाघ्ने अनुमान गरिएको छ । संसारकै सबैभन्दा ठूलो डिजिटल भुक्तानी प्रणाली यूपीआई नेपालमा पनि चलाउन सकिन्छ । नेपाल सहित भुटान, फ्रान्स, मौरिसस, सिंगापुर, श्रीलंका, यूएईलगायतका मुलुकमा यूपीआई चल्छ ।
‘रियल टाइम पेमेन्ट ट्राञ्ज्याक्सन’मा भारत सबैभन्दा अघि छ भने ब्राजिल दोस्रो र थाइल्याण्ड तेस्रो स्थानमा छ । चीनमा यसको विस्तार सुस्त छ भने दक्षिण कोरिया आक्रामक विस्तारमा देखिन्छ ।