Close

Recent Posts

हुम्लामा पुग्यो बाटो र ९३२ किमि कालोपत्रे गरेको भौतिक मन्त्री दाबी

हुम्लामा पुग्यो बाटो र ९३२ किमि कालोपत्रे गरेको भौतिक मन्त्री दाबी
  • ३ श्रावण २०८२, शुक्रबार १७:४७

काठमाडौं– गत आर्थिक वर्षमा पहिलो पल्ट हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै अब देशका ७७ वटै जिल्ला सदरमुकाममा यातायातको पहुँच स्थापित भएको सरकारले बताएको छ ।

mulpatra

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै दुई दिन अघि समाप्त भएको आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गरेका हुन् । त्यसै क्रममा उनले हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नु यो सालको सबैभन्दा ठूलो उपलब्धी भएको बताएका छन् । ‘हुम्लालाई सडक सञ्जालमा जोडेर हामीले ऐतिहासिक उपलब्धि हासिल गरेका छौं’, उनले भने ।

मन्त्री दाहालले पोहोर साल जम्मा ९३० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको भए पनि ९३२ किलोमिटरमा कालोपत्रे सम्पन्न भएको बताए । त्यस्तै देशभर १०५ वटा पक्की पुल र १० वटा बेलीब्रिजको निर्माण सम्पन्न भएको उनले जारनकारी दिए ।

मन्त्रालयले गत आर्थिक वर्ष २०८१ ८२ मा ७६.४१ प्रतिशत पूँजीगत खर्च गर्न सफल भएको र यो दर विगत ६ वर्षयताकै सबैभन्दा उच्च चएको दाबी गरेको छ ।

मन्त्रालयको प्रगति विवरणमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइले पनि राम्रै ठाउँ पाएको छ । नागरिकले ३–४ वर्षसम्म पनि लाइसेन्स प्राप्त गर्न नसक्ने अहिलेको समस्या हल गर्न प्रदेश स्तरबाटै लाइसेन्स छाप्ने निर्णय गरिएको मन्त्री दाहालले सुनाए ।

त्यस्तै, यसअघि नै आवेदन दिएर छपाइ हुन नसकेका लाइसेन्स छाप्न सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरिएको मन्त्री दाहालले बताएका छन् । यसका साथै ट्राफिक प्रहरीलाई नागरिक एपमार्फत् डिजिटल लाइसेन्स देखाउन सकिने र त्यही एपबाट ट्राफिक जरिवाना तिर्न पनि सकिने व्यवस्था गरेको भनेर मन्त्री दाहालले अब भौतिक प्रमाणपत्र (कार्ड) बोक्नुपर्ने बाध्यता हटिसकेको बताए ।

उनले पूर्व–पश्चिम रेलमार्गको निर्माण र पानीजहाज सञ्चालनका निम्ति देखिएका अवरोध हटाएर कानूनी एवमे संरचनागत व्यवस्था गरिएको बताए । यसले अब यी दुबै खाले पारवहन पूर्वाधारको निर्माण तथा सञ्चालनमा सहजता आउने मन्त्रालयको दाबी छ ।