अमेरिका भ्रमण महँगियो, अब भिसासँगै सुरक्षा शुल्क पनि तिर्नु पर्ने

काठमाडौं– अमेरिका प्रवेश गर्न चाहने अन्तर्राष्ट्रिय आगन्तुकहरूले अब नयाँ ‘भीसा इन्ग्रिटी शुल्क’ तिर्नु पर्ने भएको छ ।
योसँगै अब अमेरिका भ्रमण गर्न चाहने पर्यटक तथा विद्यार्थीहरूले हालको भिसा आवेदन शुल्कमा थप २५० अमेरिकी डलर वा सोभन्दा बढी तिर्नु पर्ने सिएनएनले उल्लेख गरेको छ । ट्रम्प प्रशासनको हालै पारित गरिएको घरेलु नीतिसम्बन्धी विधेयकमा उक्त व्यवस्था समावेश गरिएको हो ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२४ मा करिब १ करोड १० लाख गैर–आप्रवासी भिसा जारी गरिएका थिए । नयाँ शुल्क गैर–आप्रवासी भीसा अनिवार्य पर्ने सबै आगन्तुकहरूमा लागू हुनेछ । यसमा पर्यटक, व्यापार प्रयोजनमा आउनेहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू, र अन्य अस्थायी आगन्तुकहरू पनि समावेश छन् ।
तर भीसा वेभर कार्यक्रममा सहभागी देशहरू जस्तै अष्ट्रेलिया र धेरै युरोपेली मुलुकका नागरिकहरू जो ९० दिन वा कम अवधिको लागि अमेरिका जान्छन्, उनीहरूलाई भने यो नयाँ शुल्क लागू हुने छैन ।
शुल्क भिसा जारी हुने बेला नै तिर्नुपर्नेछ र यसमा कुनै शुल्क छुटको व्यवस्था छैन । तर, यात्रुहरूले यदि भिसाका सर्तहरू पालना गरेमा, यात्रा सकिएपछि उक्त शुल्क फिर्ता लिन सकिने व्यवस्था विधेयकमा उल्लेख छ ।
आर्थिक वर्ष २०२५ मा लागू हुने प्रारम्भिक शुल्क कम्तीमा २५० डलर वा गृह सुरक्षा सचिवले तोकेको थप रकम हुन सक्नेछ । यो रकम हरेक वर्ष मुद्रास्फीतिअनुसार समायोजन गरिनेछ ।
यो शुल्क रिफन्डयोग्य सुरक्षा धरौटीका रूपमा बुझ्न सकिने बताइएको छ। तर शुल्क फिर्ता लिनको प्रक्रिया अझै स्पष्ट भने भइसकेको छैन ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यो शुल्क आप्रवासन नियन्त्रणलाई बलियो बनाउने, भीसा ओभरस्टे कम गर्ने, र सीमाक्षेत्र सुरक्षालाई सुदृढ गर्ने उद्देश्यले लागू गरिएको बताउका छन् ।
फिर्ता नहुने शुल्क भने अमेरिकी कोषाध्यक्षको सामान्य कोषमा जम्मा गरिने स्पष्ट उल्लेख विधेयकमा गरिएको छ । शुल्कसम्बन्धी आधिकारिक जानकारी अमेरिकी विदेश मन्त्रालयको भिसा जानकारी पृष्ठमा प्रकाशित गरिने मन्त्रालयले जनाएको छ ।
नयाँ शुल्कले अमेरिका भ्रमण गर्ने पर्यटकहरूको लागि अनावश्यक आर्थिक बोझ थपिएको छ। यो शुल्कले अमेरिकी भ्रमणको पूर्वखर्च १४४ प्रतिशतले बढाउँने अमेरिकन ट्राभल एसोसिएसनले जनाएको छ ।