सदस्यनै रद्द गरेपछि विद्याकी छोरी उषाको टिप्पणी: पार्टीलाई नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्याउने रहेछन्
काठमाडौं– नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको राजनीतिमा आउन रोक लगाएको छ ।

मंगलबार मध्यराति सकिएको केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको हो । उक्त निर्णयपछि मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष तथा पूर्वराष्ट्रपति भण्डारीकी छोरी उषा किरणले राजनीतिमा आउन रोक लगाउने निर्णयबाट आफू अचम्मित नभएको टिप्पणी गरेकी छिन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उषाले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने गरी गरिएको निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट आफू अचम्मित नभएको टिप्पणी गरेकी हुन् । ’तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट मचाहिँ अचम्मित छैन,’ उनले भनेकी छिन्, ’म खुसी छु कि यो खुला रूपमा बाहिर आयो ।’
![]() |
![]() |
![]() |
|---|
अध्यक्ष उषाले आफूहरूलाई आमाले राजनीति गर्न मन छैन भने पनि सधैँ देखिने गरी पार्टीको समर्थनमा उभिन भनेको स्मरण गरेकी छिन् । ’हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैँ देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु , टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोसिस गरियो । तर, विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पु¥याउनेरहेछन् । र, नैतिक समर्थन खोज्दैनन् पनि । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यस कारण यो प्रकरणलाई धन्यवाद !,’ उनले भनेकी छिन् ।



